सुशील देवकोटा ,भाद्र ३ .२०७२
गुन्डाको नाइके कुमार घैटे मारिए । यो समाचारसंगै सामाजिक संजालमा विभिन्न खाले मिश्रित प्रतिक्रिया देखिन थालेको छ । कोही भन्दैछन् प्रहरीले ठिक गर्यो । जे गर्यो राम्रो गर्यो, वेलडन नेपाल पुलिस । अनि अर्का थरी छन् जो प्रहरीको यस कार्यको खुलेर बिरोध गरिरहेका छन् ।
बिरोध गर्नेहरु भन्दैछन् - एउटा नागरिकलाई यसरी किन मारियो ? प्रहरीले यसको चित्त बुझ्दो जवाफ दिनु पर्छ ।
मलाई लाग्छ - एउटा गुण्डा, जसले समाजमा जहिले पनि अशान्ती र असुरक्षा फैलायो त्यस्तालाई मार्दा प्रहरीले चित्त बुझ्दो जवाफ दिइरहनु पर्ने अवस्था आउनु भनेको अर्को दुर्भाग्यपूर्ण अवस्था हो । सबै मिलेर प्रहरीको यस कार्यको प्रसंशा पो गर्नु पर्ने हो ।
उसलाई मार्दा बिरोध गर्नेहरु भन्दैछन् - उसलाई बिना चेतावनी घरमा खाना खाइरहेको बेलामा प्रहरीले मार्यो र अहिले सबैले उसको नराम्रो कुरो मात्रै अगाडि ल्याइरहेका छन् । उसले गरेको नराम्रो काम मात्रै हेर्नु भएन, उसले गरेको समाजसेवा पनि हेर्नु पर्यो । मेरो बिचारमा, समाजमा अशान्ती फैलाउने गुण्डालाई प्रहरीले मार्यो । यो धेरै सकारात्मक कुरो हो । कसरी मार्यो, कुन अवस्थामा मार्यो र कुन बेला मार्यो त्यो महत्वपूर्ण कुरै होइन । उसले जतिसुकै समाजसेवा गरेको होस् ( त्यो पनि देश र जनताको भलाईको लागि उल्लेख्य केही छैन ), के त्यसबाट उसले पहिला गरेको अपराधबाट उन्मुक्ति दिन मिल्छ ? यसको मतलब भोलि फेरि कसैले कसैलाई मार्यो, कसैको चेलीबेटी बलात्कार गर्यो, लागू औषधको कारोबार गर्यो र अलिकती समाजसेवा गर्यो भने उसलाई उन्मुक्ति दिने ? हामीले चाहेको के हो ? कानुनी राज कि जङ्गल राज ?
हो, म पनि मान्दछु कि दोषी कुमार मात्रै थिएनन् , होइनन् । उनलाई मोहरा बनाएर चाल चल्ने हातहरु पनि उत्तिकै दोषी हुन् । उनलाई काम परुन्जेल भाडो र काम सकिएपछि ठाडोको रुपमा प्रयोग गर्नेहरु पनि उत्तिकै दोषी हुन् । अनि हामी सबैलाई थाहा छ, उनलाई मोहरा र भाडोको रुपमा प्रयोग गर्ने को हुन् ? तर, तिनीहरुलाई त्यसरी परिणाम सम्म पुर्याउन नेपाल प्रहरीले सक्दैन । किनकि उनीहरुले मोहरा बनाएर चाल चल्दा र भाडो बनाएर खेल खेल्दा आफुलाई पर्दा पछाडि लुकाएर राख्न सफल भए ।
चरी र कुमार घैटे मारिए । तर जब सम्म यस खेलका ती पर्दा पछाडिका मोहरा चाल्न खप्पिस र भाडोको रुपमा प्रयोग गर्न जान्ने धुर्तहरु छन् - यहाँ अरु धेरै चरीहरु र धेरै घैटेहरु जन्मिन सक्छन् । यो केवल एक शृङ्खलाको अन्त्य भएको हो, सम्पुर्ण कथाको अन्त्य भएको होइन ।
यदि यो कथाको अन्त्य गर्ने हो भने त्यसको एउटै उपाय छ । हामी उठनु पर्छ, हामी जुटनु पर्छ । हरेक जात भन्दा माथी, हरेक भाषा भन्दा माथी !!! त्याग्नु पर्छ मेरो राजनैतिक सोच, मेरो परिवेश, मेरो पहाड, मेरो मधेस, मेरो हिमाल भन्ने जस्तो विभेदकारी बिचारलाई । र, सोच्नु पर्छ मेरो नेपाल !!! हाम्रो नेपाल !!! यदि हामीले एकपटक केवल एकपटक मात्रै आफ्नो स्वार्थ भन्दा माथी उठेर सोच्यौ र हामी जनता एकपटक मात्रै जुटयौ भने यी हामीलाई च्याम्पटी जसरी घुमाउन खोज्नेहरुको अस्तित्व समेत भेटिने छैन । यो पक्का कुरा हो ।
लेखमा लेखकको व्यक्तिगत बिचार समेटिएको छ
लेखक चिरपरिचित गीतकार हुन र बिगत तीन दशक देखि चलचित्र, उद्घोषण , लेखन कार्यमा सकृय छ्न ।।
No comments:
Post a Comment