F

Wednesday, August 5, 2015

नेपाली आधुनिक सुगम तथा चलचित्र संगीत पुरुष -शम्भुजित बास्कोटा

टीका भण्डारी 
श्रावण २० 

पर्खि बसें आउला भनी मेरो उठ्ने पालो , कुर्दा कुर्दै जिन्दगीनै भई गएछ कालो २. तिमीले भनेका देब् छोएर ३.यस्तै रहेछ यहाँको चलन ४ .सफल तिम्रो त्यो जिन्दगीलाई ५. .तिम्रो त्यो हंशिलो मुहारको ६. म रुप हुँ तिमी दर्पण ७ .गहिराईमा डुब्दै नडुब ८ .तिमी संग डुंगामा ९. हिउँ भन्दा चिसो १०. रातको रानी फुले झैं साँझमा ११ पुर्णिमाको पनि १२ एकै नजरमा है आदि संगीतकार शम्भुजित बास्कोटाका लोकप्रिय सुगम संगीत मध्येका केहि गीत हुन् | शम्भुजित बास्कोटा नेपाली सांगीतिक क्षेत्रका एक अब्बल संगीतकार हुन | सांगीतिक दृष्टिकोणबाट उनि निकै शक्तिशाली छन् | संगीतकारको शक्ति भनेको सिर्जनात्मक शक्ति हो | उनले आधुनिक सुगम संगीतमा मात्र होईन नेपाली चलचित्रको संगीतमा समेत उच्च स्थान र गरिमा कायम गरेका छन् | उनीमा सिर्जना शक्ति अनौठो किसिमको छ | कुनै समय थ्यो जुन बेला उनले जुन गीत छोयो त्यो गीत हिट हुन्थ्यो | जुन चलचित्रमा संगीत गरयो त्यसले बजार भाउ राम्रै पाउथ्यो | आज पनि उनका ति संगीतहरु कतिपय श्रोताहरुको रोजाई, र दर्शकको खोजाई भित्र पर्दछन | उनि नेपाली चलचित्र जगतका सर्बाधिक लोकप्रिय संगीत निर्देशक हुन् | नेपाली चलचित्रको ईतिहासमा संख्यात्मकरुपमा समेत यिनैले बाजी मारेका छन् | उनले ३५४ वटा नेपाली चलचित्रमा २००० भन्दा बढी गीतमा संगीत निर्देशन गरेका छन् |

बाल्यकाल र परिवार :
संगीतकार शम्भुजित बास्कोटा काठमाडौँको पानी पोखरीमा पिता गोपालबहादुर बास्कोटा र आमा मिठु बास्कोटाका एक्लो पुत्ररत्नकारुपमा २०१३ साल चैत्र (१५ मार्च १९५७) मा जन्मेका हुन् | यद्यपी उनले शारीरिक तथा मानशिकरुपमा आफुलाई तन्नेरी अवस्थामै राखेका छन् ! उनका ३ दिदी बहिनीहरु छन् | उनका सन्तानकारुपमा २ छोरा २ छोरी छन् | केटाकेटीमा शम्भुजित खेलकुदमा धेरै अभिरुची राख्दथे | जीवन्यास्टिक गर्थे | उफ्रेर आगोको रिङ्बाट समेत सजिलै छिर्थे | फुटबलमा पनि उनि राम्रै थिए | बख्सिङ् खेलमा पनि उत्तिकै रुचिथ्यो | हरेक दिन जसो स्विमिङ् खेल्न स्विमिङ् पुल पुग्थे साथीहरुसंग |१६ बर्षमै उनले ड्राईभिङ् सिके | उनका संतानहरु पनि एकसे एक छन् | एउटा छोरो सौर्यजीत बास्कोटाले नपाली चलचित्र (कुसुमे रुमाल- टु) मा समेत संगीत निर्देशन गरिसकेका छन् | एक्लो छोरो स्वाभाविक रुपले शम्भुजित केहि मुड्डी र जिध्दी स्वभावका थिए बाल्यकालमा | घरमा सांगीतिक चहलपहल हुने गर्थ्यो | पिता केहि हार्मोनियम बजाउने गर्थे | घरमा पिताका साथीहरु संगीत उस्ताद मास्टर रत्नदाश प्रकाश ,जगतमर्दन थापा ,आदि आइरहन्थे | गीत सुनाउँने कार्यक्रम चल्थ्यो कहिले काहीं | ८-१० बर्षका शम्भुजित उनीहरुले गाएको बजाएको नियालेर हेर्थे | आफै भित्र गुनगुनाउँ थे पनि | उनका फुपुहरु पनि गीत गाउन निकै शौकिन थिए | फुपुहरुले गीत गाएर सुनाएको पनि राम्रै सम्झना छ उनलाई | मास्टर रत्नदाश प्रकाशले गीत गाउँदा भने उनि एकोहोरिन्थे | आजपनि त्यो आवाज संग गहिरो स्पन्दन लुकेको छ उनको | आहा यसरीनै गीत गाउन पाए … रहरहरु सल्बलाउँदै र ईच्छाहरु गहिरोगरी पुलकित हुँदै गएका थिए उनीमा | भानुभक्त स्कुलमा पढ्न थाले | गीत गाएर स्कुलका साथीहरुलाई आकर्षित गर्न थाले | मिठो गाएकै आधारमा उनलाई बिद्यालयले छात्रवृत्ति समेत दियो | यसबाट घरमा पनि सकारात्मक संदेश गयो | लौ यसले केहि गर्ने रहेछ भन्ने संकेत पायो परिवारले पनि |अब भने घरमै गितार, तबला ,हार्मोनियम आदि बाद्ययन्त्रहरु ल्याइयो | एकदिन स्कुलमा आयोजित भक्तप्रल्हाद नाटकमा उनले बाल चक्रमुर्तिको भूमिका गरे बापत पुरस्कृत हुँदै मेडल समेत प्राप्त गरे | त्यहाँ उनले रामेश मन्जुलहरुको स्याबाशी पनि पाए | एक्लो छोरो भएकोले उनि स्वाभाविकरुपमा सफलतामा धेरै पुल्पुलिंदै पनि गए | घरमा जे जे मागियो ति सबै सामग्रीहरु आइपुगे | संगीत सिक्ने चाहना राखे | पिताले गुरु नरराज ढकालसंग शिक्षणका लागि व्यवस्था मिलाईदिए | शास्त्रीय संगीतको अनुभव उनै गुरुबाट लिए यिनले | बंगाली गुरु भानु चटर्जीसंग हार्मोनियम सिके | स्कुलमा जितेन्द्र जोशीबाट पनि संगीतका थुप्रै काम लाग्ने फर्मुलाहरु सिके उनले | गितार आफै कर्ड्स खोज्दै सिक्दै गए | यसै बीच उनि रेडियो नेपालको बाल कार्यक्रममा भाग लिन पुगे | त्यसबेला यादब खरेल रेडियो नेपालमा बाल कार्यक्रम चालाउंथे | शम्भुजितले बाल कार्यक्रममा समेत राम्रो दखल प्रस्तुति गीतमै राखे | राम्रो बाल प्रतिभाका रुपमा छानिए |
संगीतप्रेमीहरुका प्रिय संगीतकार शम्भुजित बास्कोटाले १७ बर्षको उमेर देखि नै नेपाली संगीतको क्षेत्रमा संगीतकारको रुपमा काम गर्न थालेका हुन् | जसलाई सांगीतिक क्षेत्रमा एक ठुलो हस्ताक्षरकारुपमा मानिन्छ | उनले स्वरसम्राट नारायणगोपाल देखि पछिल्लो पुस्ताका गायक गायिकाहरुसंग समेत मिलेर काम गरेकाछन् | अहिले सम्म २०० भन्दा बढी गायक गायिकाहरु संग काम गरि सकेको अनुभव छ उनि संग | उनको संगीतमा स्वरसम्राट नारायणगोपालले ४ वटा गीतहरु गाएका छन् | तिमीले भनेका सारा देव छोएर , पर्खि बसें ,मन्दिरमा छ कि मुर्तिमा माया ,आँखैमा कसैको तस्बिर बसेछ नारायण गोपालको आवाजमा सिर्जित यिनका संगीतहरु हुन् |
संगीतमा बेग्लै खाले प्रतिभा र क्षमता लिएर आएका यी संगीतकारले रेडियो नेपालमा २०२८ सालमा पहिलो पटक स्वर परिक्षा पास गरेका हुन् | तर स्वर परिकक्षा पास हुने बित्तिकै गाउने अवसर पाएनन उनले |
दुई बर्षको कुराई पछि मात्र गीत गाउने डेट पाए | उनले २ बर्षमा पाएको डेटलाई राम्रै गरि उपयोग पनि गरे एकैदिन एकै सिफ्टमा २ वटा गीतहरु रेकर्ड गरेर | ति दुई गीतहरु -कुन शहरमा छौ मायालु र यो कान्छी छोडेर जान्छे हामी जस्तो सोझालाई बोलका थिए | यी दुवै गीत त्यस बेला निकै चले | उनलाई गायककोरुपमा चिनाए यी गीतहरुले | यहीकारण पहिलो पटक डेटको अवसर दिलाइदिने रेडियो नेपालका हरिबहादुर रंजितलाई उनि जीवनमा कहिलै भुल्न चाहँदैनन |
करियरको सुरुवातिचरण :
जब सुप्रसिद्ध संगीतकार बास्कोटाको करियरको कुरा आउँछ ,उनको गायन पक्ष सबलरुपमा जोडिएर आउंछ ,चलचित्रको कथा लेखन देखि नेपालको पहिलो म्युजिक भिडियोको निर्देशन सम्म उत्तिकै महत्वपुर्ण छन् ,गीति लेखनको यात्रा पनि कम छैन उनको |
उनको सांगीतिक करियर गायक तथा संगीतकारकोरुपमा २०२८ सालबाट सुरु भयो | यसपछिका दिनमा उनले आधुनिक गीति आयाम र अभियानमा आफुलाई उत्कृष्ट सर्जककोरुपमा निरन्तर स्थापित गरिरहे | कर्णप्रिय संगीतहरु एक पछि अर्को रेडियो नेपालमा रेकर्ड गरे | यहि बिचमा उनले ७०० जति रेडियो तथा टिभी जिङ्गलहरु समेत तयार पारे विभिन्न समयमा | नेपाल टेलिभिजनको लोगो धुन र समाचारको धुन समेत यिनैले तयार पारे | रेडियो नेपालमा भजन ,स्वदेशगान ,आधुनिक गीत ,सुगम गीत ,पप गीत ,भाषा भाषीका गीत ,लगायत प्रयोगात्मक शैलीका भिन्न खाले गीतहरु उनले तयार पार्दै गए | यसबाट उनको बहुमुखी प्रतिभा, क्षमता र नबिन गतिशिलता झल्किंदै गयो | संगीतका विद्वान ,संगीत हस्ती नातिकाजी, शिवशंकर ,अम्बर गुरुङ ,फत्तेमान लगायतको एउटा उन्नत सांगीतिक स्वर्णिम युगमा उनको प्रवेश भएकोले पनि उनीमा धेरै चुनौतीहरु थिए | यसलाई सहश्र स्वीकार गर्दै उनि तिनै श्रस्टाहरुसंगै हातेमालो गर्दै केहि पृथकता र नबिनताको परिचय लिएर उदाए |
उनले नव प्रतिभाहरुको लागी समेत टेलिभिजनमा प्लाट्फर्म निर्माण गर्दै गए | नेपाल टेलिभिजनका लागि संगीत ,संगम प्रतिभाको डबली ,सिर्जनाको आधा घण्टा ,तितो सत्य (परिकल्पना ),टोल टोलमा ,गीति कार्यक्रम ,मनको रहर लगायतका कार्यक्रमहरु आफ्नै सोच र दिमागी चिन्तनबाट प्रष्फुटित गरे | यी कार्यक्रमहरुले जन्माएका कतिपय कलाकार अहिले देशका नामुद गायक गायिका बनि सकेका छन्,गौरब गर्छन यसमा उनि | यस बिचमा उनि कला संगीतको क्षेत्रमा केहि सम्झना रहने कार्य गर्ने अठोटका साथ् नेपाल प्रज्ञा प्रतिष्ठानमा संगीत निर्देशक पदमा लामो समय काम गरे | यसै बिचमा उनले प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विभिन्न नाटकहरुमा संगीत निर्देशककारुपमा कार्य गरे | संगीत शाखा प्रमुख तथा निर्देशकको भूमिका संगै २८ बर्षे सेवा पछि त्यहाबाट स्वैच्छिक अवकाश समेत लिईसकेका छन् | उनको जीवनमा धेरै भूमिकाहरु देखिन्छन | कैले उनि नेपाल चलचित्र संस्थानमा संचालक समितिको सदश्य त कहिले नेपाल टेलिभिजनको सदश्य बने | कहिले त्यहि नेपाल टेलिभिजनको पूर्व कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक बने भने चलचित्र बिकाश बोर्डमा पनि सुरुमा सल्लाहकार पछि बोर्डको अध्यक्ष सम्हाले | त्यसोत उनले रेडियो नेपालको संगीत मुल्यांकन समितीमा रहेर पनि संगीतको बिकासका लागि भ्याए सम्म काम गरे | नेपाल सांगीतिक संघ ,नेपाली संगीत निर्देशक संघ ,नातिकाजी स्मृति समाज जस्ता सामाजिक संस्थाहरुमा यिनको क्रियाशीलता उर्जाशील रह्यो | उक्त संस्थाहरुमा क्रमस संरक्षक ,सल्लाहकार ,र वर्तमान अधक्षकारुपमा समेत क्रियाशील छन् | उनले नेपाली संगीत क्षेत्रका दिग्गज संगीत गीतकार ,गायक गायिकाहरु संग मात्र काम गरेननन नेपाली संगीत क्षेत्र र मुम्बईका संगीत एरेन्जरहरुसंग काम गरे | नेपालमा उनले संगीत एरेन्जर मदन परियार ,शुभ बहादुर ,गणेश परियार र मनोहर सिंहसंग काम गरे भने मुम्बैमा मनोहरि सिंह ,उत्तम सिंह ,नेबिल ,बब्लु चक्रवर्ती लगायत बलिवुडका नामुद एरेंन्जरहरुसंग काम गरे | मुम्बैका एक से स्टुडियोमा फिल्मका गीत रेकर्ड गरे | जसमा उनले संगीतमा बिबिधता समेत दिंदै गए | कम्पोज बिबिधततामा मेजरबाट माइनरमा ,माईनरबाट मेजरमा ,सस कर्ड्सबाट मेजर माईनरमा,थ्री फोर बिटबाट टु फोर ,टु फोरबाट सेभेन एइटमा कम्पोज भएका ,एक्सिडेन्टल र अगुमेन्टेड म्युजिक नोट लागेका गीतहरु समेत यिनले कम्पोज गरे | धेरै गीतहरुका एरेन्जमेन्ट शम्भुजित आफैले गरेका छन् | यिनै आफै राम्रो एरेन्जर समेत हुन् | संगीतका आरोह अवरोहहरुमा यिनलाई श्रोता र माया गर्ने शुभचिन्तकहरुले धेरै किसिमका उपनामहरु दिए -मेलोडी किङ्,पारसमणि ,संगीतरत्न (बर्मामा पाएका ) ,महान संगीतकार ,मास्टर माइन्ड ,गोल्डेन टच आदि | यसलाई उनले श्रोताको गहिरो मायाको रुपमा बुझेका छन् | उनले सांगीतिक जीवनको एउटा पलमा डा.भोला रिजालको शिक्षा मुलक चलचित्र गौंथलीमा ५९ वटा गीतको धुन निर्माण गरे भने वर्ल्डकप- २०१४ मा सहभागी नेपाली क्रिकेट टिमको गीतको संगीत समेत गरेर उत्कृष्ट संगीतकोलागि स्याबासी समेत प्राप्त गरे उनले | संगीतकार शम्भुजित बास्कोटाले ३५४ वटा नेपाली चलचित्रहरुको पार्श्व संगीत समेत दिए तर तिनमा केहि ऎतिहासिक चलचित्रहरु प्रेम पिण्ड ,सिमारेखा ,बसन्ती ,राजमती (नेपाल भाषामा निर्मित ),सेतो बाघ (पार्श्व संगीत ) मा संगीत निर्देशन तथा पार्श्व संगीत निर्देशन समेत दिए | उनले यसलाई जीवन करियरको' सुप्रिम वर्क' का रुपमा लिएका छन् | बास्कोटाले आफ्नो करियर निर्माणकै क्रममा त्यसोत करिब २ दर्जन त राष्ट्रिय पुरस्कार ,सम्मान ,मेडल ,विभूषण आदिनै प्राप्त गरेकाछन् | बालमन्दिरमा आयोजित कार्यक्रममा राजा महेन्द्रबाट स्वर्ण पदक ,प्रबल गोरखा दक्षिणबाहु ,बिख्यात त्रिशक्ति पट्ट ,अभियान श्री पुरस्कार (२०४९ )छिन्नलता गीत पुरस्कार ,(२०५१ ),कलिवुड सिनेमा अवार्ड ,(२०५४,५६ )नेपाल सम्मान (२०५७ ),मोसन पिक्चर अवार्ड (०५४,०५६ )हिट्स एफएम अवार्ड ((२०५९),एन टिभी पुरस्कार (२०५९ )शिवशंकर पुरस्कार (२०६२ )रुपकस्मृती पुरस्कार (२०६२ ),नारायणगोपाल राष्ट्रिय प्रतिभा पुरस्कार ,कान्तिपुर एफएम उत्कृष्ट अवार्ड लगातार ६ वर्ष,बिन्धबाशिनी संगीत सम्मान (२०७१ ),अभियानरत्न श्री (२०७१ ) ,महान संगीतकार तथा संगीत शिरोमणि सम्मान नेफ्टाद्वारा हंगकंगमा आयोजित नेफ्टा अवार्ड (२०७१ )आदि उनका जीवनका महत्वपुर्ण सम्मान र पुरष्कारहरु हुन् | जसले उनको करियरको सफलता पुष्टि गर्दछन | नारायणगोपाल राष्ट्रिय युवा सेवाकोषका पनि उनि संस्थापक मध्येका एक हुन् |
संगीतकार शम्भुजित बास्कोटाले ( २०३२ -३४ ) तिम्रो घुम्टो भित्र(प्रेमध्वज -तारा थापा ) ,नर्तकी बनि(प्रेमध्वज प्रधान ), म रुप हुं (भुवन के. सी.- तारा थापा ), तिम्रो त्यो हंसिलो मुहार (दिपक खरेल ),चुपचाप बस तिमी(बि. आर.संगम ) ,गहिराईमा डुब्दै नडुब (प्रकाश श्रेष्ठ ),तिमिसंग डुंगामा (प्रकाश श्रेष्ठ) ,धेरै धेरै प्रयास गरें (दिपेन्द्र थापा ) ,पुर्णिमाको रात पनि(दिपक खरेल ) आदि गीतहरुमा लोकप्रिय संगीत दिए | यी गीतहरुबाट यिनको लोकप्रियता र चर्चा परिचर्चा चुलिँदै गयो | त्यसबेला यिनले नेपालमा हिन्दि फिल्मी गीतको दबदबा देखे | मानिसहरु बिहे भोज र पार्टीहरुमा हिन्दी फिल्मी गीतहरुमा नाचेको गाएको देखे | अरुत अरु आफु पढ्ने स्कुल,कलेजमा समेत हिन्दि गीतमा आफूजस्तै तन्नेरीहरु रमाएको देखे यसले उनको मन कुँडियो ,मनमा यी गीतहरुलाई कसरि बिस्थापित गर्न सकिन्छ ,कसरि यी हिन्दि गीतहरुमा नाचिरहेका ,झुमिरहेका युवा पुस्तालाई नेपाली गीत संगीतमा नचाउन सकिन्छ भनेर सोचे | च्याट्ट मुखमा झुन्डिने ,कतिपय नाच्न मिल्ने गाउन पनि मिल्ने खालका गीतहरु बनाउन थाले | यद्यपि सुगम संगीतको धारलाई उनले दर्बिलो गरि समाती रहे | यहि सोच समझ र दृष्टिकोणलाई मार्गदर्शन बनाउंदै उनले आम जनजीवनलाई प्रवाहित गर्ने गीत संगीतमा जोड दिन थाले |कतिपयले संगीतमा ल्याएको यो परिवर्तनलाई सहजरुपमा ग्रहण गर्न सकेनन तर श्रोताकै ओठबाट तिनलाई जवाफ फर्काई रहे | उनि श्रोतामा धेरै भिजि सकेका थिए | त्यसकारण अरुको कुरा सुन्न पनि त्यति जायज ठानेनन | यहिक्रममा उनले प्रेमको मूल्य (प्रकाश श्रेष्ठ ), उपेक्षाको लहरमा (दीपक खरेल )भाग्यका पानाहरु (रबिन शर्मा ),बादल बनाईदेउ (दीपक खरेल ),सफल तिम्रो त्यो जिन्दगीलाई (प्रकाश श्रेष्ठ ) ,एकै नगरमा (उमेश पाण्डे) आदि गीतहरु संगीत गरे | जब एउटा युवा संगीतकार बेफिकर संगीतमा उदियमान अवश्थामा देखे स्वर सम्राट नारायणगोपालले ,उनि राम्रै गरि आँखामा परिहाले | उनको क्षमताको पहिचान गर्दै नारायणगोपालले उनलाई २ वटा गीत संगीत गर्न दिए | पर्खि बसें (नारायण गोपाल ) ,तिमीले भनेका(नारायण गोपाल ) , यी दुवै गीतमा यिनले जमेर संगीत दिए | यी दुई गीतबाट यिनको सांगीतिक क्षितिज अझ फराकियो बन्यो | स्वर सम्राट नारायण गोपालले नै उनको एकल साँझमा खुलेरै प्रशंशा गरे | कतिपय उनका आलोचकहरुलाई यो बलियो थप्पड नै थ्यो | नारायण गोपालले उक्त एकल साँझमा भनेका थिए -'' एउटा युवा संगीतकारले अहिले नेपाली संगीतमा निकै राम्रो गर्दैछ ,त्यो संगीतकार शम्भुजित बास्कोटा हो ,म उसको अहिले २ वटा गीत गाउँदै छु '',त्यसबेला उनले ठुलो ताली पाएका थिए | यसबाट श म्भुजितले ठुलो उत्साह र हौसला प्राप्त गरे | यसपछि क्रमस कसैले बुझेन (ज्ञानु राणा ),टाढा नभईजाउ( प्रेमध्वज प्रधान ) ,छोडी जाने मायालुको(मिलन चख्खु ) ,हिउँ भन्दा चिसो(डेनी डेङ्जोङ्पा ) ,रातो रानी(डेनी डेङ्जोङ्पा ) ,शुभकामना( प्रकाश श्रेष्ठ ),फेवातालको आँगन(प्रकाश श्रेष्ठ ) ,हेरेको तिमीलाई (सपना श्री ) स्याउली गर्न( शुदेशराज शर्मा ),लाउन त प्रित (कुमार कान्छा),टाढा धेरै टाढा (नागेन्द्र श्रेष्ठ ),चाँदनीमा बग्छ खोला (मिलन चख्खु ),यस्तै रहेछ यहाँको चलन ,(देविका बन्दना),धेरै दिन भो (अमर तन्डुकार),मुसुक्क हांसी दिंदा (भीमसेन लामा ),चिन्दै नचिनेको (दीपक खरेल ),यात्रा रहेछ (रामकृष्ण ढकाल) जस्ता चर्चित गीतहरु नेपाली संगीत जगतलाई सुम्पिए | यी गीतहरु कतिपय आजपनि रेडियो नेपालका श्रोताको अनुरोध संगीतमा बज्ने गर्दछन भने कतिपय सदाबहार गीतहरुको शृंखलामा रेडियो नेपाल लगायतका माध्यमहरुबाट गुञ्जने गरेकाछन् |
चलचित्रको संगीत निर्देशन :
नेपाली चलचित्रको सांगीतिक आकाशमा सबैभन्दा द्रुत गतिमा दौडिएका सांगीतिक धावक पनि हुन् शम्भुजित बास्कोटा | यो दौड र उच्च क्रियाशीलताले धेरै नेपाली चलचित्रलाई सफलता दिलायो ,लाखौँ दर्शकहरुलाई सिनेमा हलसम्म पुर्याउन बाध्य तुल्यायो | धेरैको मन, मुटु र हृदयमा गहिरो माया बसायो उनि प्रती अनि नेपाली चलचित्रको संगीत प्रती | नेपाली संगीतक्षेत्रलाई व्यावसायिक धारका थुप्रै गीत संगीतहरु दिलायो | यी संगीतले हिन्दी गीत संगीतको प्रभाव दबाब र अतिक्रमण निरुत्साहित गर्ने सवालमा महत्वपुर्ण योगदान रहेको कुरालाई कसैले नकार्न सक्दैन | एउटा समूह अझै नेपालमा चलचित्रको संगीतलाई संगीत नै नगन्ने सोचमा पनि छ | यसको सार भारतीय संगीतलाई नजानिँदो ढंगले स्वागत गर्नु नै हो | यसलाई चिर्दै शम्भुजित बास्कोटाले भारतीय संगीतको टक्करमा धमाका मचाउने खालका संगीतहरु पस्किरहे नेपाली चलचित्रमा | फलाम फालामकै ठाउँमा तामा तामाकै ठाउँमा भनेझैं सुगम संगीत ,सुगम संगीतको स्थानमा ,चलचित्रको संगीत चलचित्रकै स्थानमा दुवै महत्वपुर्ण छन् भन्ने कुरा यिनले साबित गर्दै गए |
चलचित्र चेलीबेटी शम्भुजित बास्कोटाको पहिलो संगीत निर्देशन रहेको चलचित्र हो तर नेपालमै रेकर्ड भएको पहिलो चलचित्र भने माया हो | यस चलचित्रका सबै गीतहरु त्यसताका चर्चित बने | यसपछि उनले बिजय पराजय ,युगदेखि युगसम्म ,लोभी पापी ,अधिकार ,कसम ,संकल्प ,प्रेमपिण्डमा संगीत निर्देशन गरे | प्रेमपिण्ड चलचित्र पनि एतिहासिक बन्यो ,र यसका संगीतहरु पनि कालजयी समेत बने | संगीततर्फको २ वटा राष्ट्रिय अवार्ड समेत प्राप्त गर्यो | एकपछि अर्को आउने चलचित्रको संगीतले उनको संगीतकारको छबि पनि उजिलिंदै गयो | प्रेमपिण्ड पछि शम्भुजित बास्कोटाले भाउजु ,ट्रकड्राईभरमा संगीत दिए | ट्रकड्राईभरका गीतहरु पनि उत्तिकै चर्चित बने | चलचित्र मोहनी र सारंगीमा पनि यिनले जमेर संगीत दिए | सारंगीको मैले गीत छोडी आएँ कालजयी प्रकृतिको चलचित्र पार्श्वसंगीत बन्यो | यसपछि चलचित्र झझल्को ,महामाया ,माईली ,जालीरुमाल ,आदिमा संगीत दिए | यसपछिका चलचित्रहरु -जन्मभुमी ,एकादेश ,गोठालो ,गरिब ,लक्ष्मीपुजा ,निरमाया ,करोडपति यिनका चर्चित संगीत भएका चलचित्रहरु हुन् | यि मध्ये चलचित्र गोठालो ,लक्ष्मीपुजा ,करोडपतीका संगीतहरु बढी नै चर्चित बने | चलचित्रको व्यापारिक सफलतामा शम्भुजीतका संगीतको महत्वपुर्ण योगदान रहेको कुरा आज पनि तिनका निर्माता निर्देशकहरु समेत खुल्ला हृदयले स्वीकार्दछन | चलचित्र क्षेत्रमा एउटा बेग्लै ताम झाम र रौनक क्रिएट गर्न यिनी माहिर नै मानिए त्यो बेला | यस पछि त झन् यिनको हातमा दर्जनका दर्जन चलचित्रहरु पर्न थाले एकै पटकमा | सिमा रेखा ,आफ्नो बिरानो ,बिषालु ,दौतरी ,अल्लारे ,जुनतारा धर्मसंकट आदिमार्फत यिनले फेरी अर्को धक्का मारे चलचित्रको संगीतमा | सिमारेखा ,दौंतरी ,अल्लारे आदिका गीत संगीतले चलचित्रको संगीतलाई नै उचाई प्रदान गर्यो | यहाँ सम्मकी आधुनिक सुगम संगीत समेत यिनका चलचित्रका गीत संगीतको छाँयामा परेको कुरा धेरै श्रष्टाहरुले स्वीकारे त्यसबेला | यसपछिका दिनहरुमा उनले चण्डाल ,दैब संयोग ,गुरु चेला ,ईश्वर ,साथि ,नासो ,चोर ,मिष्टर रामकृष्णे,ठुल्दाई लगायतका चलचित्रहरुमा यिनले बलियो संगीत दिए | यसबाट चलचित्रको संगीतलाई कथालाई जत्तिकै महत्व दिने ठाउँमा निर्देशक निर्माताहरुलाई सोच्न ठुलो बल पुर्याए | चलचित्रको संगीतमा निर्माताहरुले लगानी पनि बढाउंदै लगे | खर्च गर्न डराउन छोडे चलचित्रको संगीतका लागि | यसपछि उनले हत्तेरी ,नौ डांडा पारी ,खानदान ,बेइमानी ,नेपाल प्यारो छ ,गौंथली ,अर्जुन ,मोहनी लाग्लाहै ,बादल पारी ,लगन गाँठो ,यस्तैहुन्छ पिरती ,जे भो राम्रै भो आदि चलचित्रहरुमा सफल संगीतहरु दिए उनले | नेपाली चलचित्र बिकाशका लागि चलचित्र बोर्डको अध्यक्ष बनेपछि यिनी क्रमिकरुपमा संगीत निर्देशनबाट बिश्राम लिंदै गए |
गीतकारहरु :
संगीतकार शम्भुजित बास्कोटाले धेरै गीतकारहरुसंग काम गरेका छन् | बि. स.२०३२ साल देखि २०४० सालसम्म उनले खासगरी सुगम संगीतका क्षेत्रमा कलम चलाईरहेका गीतकारहरु देखि लिएर बिल्कुलै नयाँहरु संग समेत काम गरे | नेपाली संगीतको यात्रामा पछि सम्म भने औंलामा गन्न सकिने गीतकारहरु मात्र यो क्षेत्रमा स्थापित हुन सके | सुरुवाती चरणका ४ वटा गीत उनले राजेन्द्र रिजालका शब्दमा संगीत गरेका थिए | जसमा प्रेमध्वज प्रधानले २ वटा गीत गाएका थिए भने अन्य २ वटा मीरा राणा ,दीपक खरेल र तारादेबिले गाएकी थिइन् | त्यसपछिका गीत गीतकार यादव खरेल ,दिनेश शाह ,गौरी नेवा ,नीर शाह ,विश्व बल्लभ ,सतिस प्रधान ,पुरुषोत्तम सापकोटा ,विश्वम्भर प्याकुरेल ,बालकृष्ण सजिब ,राजेन्द्र रिजाल ,द्वारिका अमात्य ,एनबि शाह ,बि. बि. सिंह, अरुण थापा (गायक अरुण थापा होननन ),विश्वप्रकाश पौडेल ,देशबन्धु कार्की ,बिजय उदय निरौला , शोनी शाह ,सुनिल थापा ,नरेन्द्र भट्ट ,बिजय पाल्पाली ,राजेन्द्र रिजाल ,प्रदीप कुमार उपाध्याय ,भैरबनाथ रिमाल ,नारायणकुमार आचार्य ,जयसिंह थापा ,भाष्करराज कर्णिकार ,नरेन्द्रभट्ट, मनोज घिमिरे ,रजनी चन्द ,सपना लामिछाने ,बिनोद ढकाल ,कन्चन पुडाशैनी ,सुनिता कार्की ,निमेष सिंह ,दिनेश लोबा ,उन्नति बोहोराशिला ,बामदेव गौतम ,सरुभक्त ,राजेन्द्र शलभ ,प्रकाश शायमी ,हरिभक्त कटवाल ,एस पी कोईराला ,सान्तेस ,नरेन्द्रराज प्रसाईं ,उत्तम श्रेष्ठ ,सहदेव ढुंगाना ,दिनेश अधिकारि ,पारु खरेल, सिन्धु रेग्मी ,शाश्वत पराजुली ,रबिन्द्र शाह ,हेम हमाल ,जीवनाथ धमला ,रत्न श्रेष्ठ ,रत्नशम्सेर थापा ,प्रदीप रिमाल, मदनकृष्ण श्रेष्ठ ,रमण घिमिरे ,श्रीकमल,राजकुमार शर्मा, ओमकुमार झा ,गगन बिरही ,राजेन्द्र थापा ,सुमनकुमार नेपाली ,समुद्र भट्टचन्द ,बालकृष्ण सजीव ,बाबुराम ,जी शाह ,दयाराम दाहाल ,नवराज लम्शाल ,शिव रेग्मी ,आदि छन् |
गायक गायिकाहरु :
यसैगरी उनले संगीत दिएका सुगम संगीतका स्वरहरु पनि धेरै नै छन् | प्रेमध्वज प्रधान ,तारा देबी ,फत्तेमान ,नारायणगोपाल ,योगेश बैद्य ,रुबी जोशी ,तारा थापा ,मीरा राणा ,रबिन शर्मा ,प्रकाश श्रेष्ठ ,दीपक खरेल ,कुमार बस्नेत ,भुवन के. सी. ,उमेश पाण्डे ,शेखर प्रधान, दीपेन्द्र थापा, सिर्जना राई ,किरण कपाली, बि. के. शाही ,राधा शाक्य, गोपाल श्रेष्ठ ,ओमबिक्रम बिष्ट ,रेणु थापा, दिपेन्द्र थापा ,प्रफुल्ल श्रेष्ठ ,बिनोद चौधरी ,रमेश ताम्राकार ,गोबिन्द लोहनी, ज्ञानु राणा ,भक्तराज आचार्य ,निलिमा बांदेल ,शुनिल ज्ञावाली ,प्रदीप शाक्य ,.पन्चनारायण सिंह , ,मदनसिंह नेपाली ,राजु थापा ,अनिता श्रेष्ठ ,सुक्मित गुरुङ ,ईश्वर श्रेष्ठ ,मदनकृष्ण श्रेष्ठ ,गोपाल श्रेष्ठ ,नागेन्द्र श्रेष्ठ ,डेनी डेन्जोङ्ग्पा ,महेशराज ठाकुर, सुनिता सुब्बा ,लोचन भट्टराई ,सपना श्री ,प्रबेशमान शाक्य ,दिवाकर खंडका ,अमर तन्डुकार ,जगदीश समाल ,सुदेशराज शर्मा ,रामकृष्ण ढकाल ,एम बराल, राजेशपायल राई ,भीमसेन लामा ,मदनकृष्ण श्रेष्ठ,हरीबंश आचार्य , रोशन गुरुङ ,रमाना श्रेष्ठ ,बशन्त खण्डका ,प्यारु शाह ,अन्जु पन्त ,शिव परियार ,जुना प्रसाई ,प्राश्ना शाक्य ,मल्लिका कार्की ,,आनन्द कार्की ,नरेन्द्र प्यासी ,शिशिर योगी ,नबिन के भट्टराई ,सुगम पोख्रेल ,निमा रुम्बा ,मिङ्मा शेर्पा ,सत्यराज आचार्य ,स्वरुपराज आचार्य ,प्रमोद खरेल ,मनोजराज ,दीपक लिम्बु ,रजीना रिमाल ,मिलन अमात्य , आदि गायक गायिकाहरुले उनका संगीतमा गाएकाछन् | यसैगरि चलचित्रको पार्श्वगायनमा उनको गीत गाउने बिदेशी गायक गायिकाहरु पनि धेरै नै छन् | आशा भोशले ,साधना सरगम ,हेम लता ,अनुराधा पोड्वाल ,सब्बिरकुमार ,डेनी डेन्जोङ्ग्पा ,साधना सरगम ,शुरेसवाड़कर ,कबिता कृष्णमुर्ति ,पंकज उदाश ,महेन्द्रकपुर अनुपमा देशपान्डे ,उदितनारायण झा, दिपानारायण झा ,अभीजित ,शोनु निगम ,बिनोद राठोर ,सुनिती चौहान ,रुप कुमार राठौर ,बि जे बेन्डिक्ट ,आदित्यनारायण झा ,दिलराज कौर ,अभिजित ,भुपेन्द्र सिंह ,अनुप जलोटा ,कुमार शानु ,सागरिका मुखर्जी ,कुमार कान्छा आदि छन् |
उनका लोकप्रिय केहि गीतहरु:
नेपाली चलचित्रमा उनले आफ्ना चलचित्रमा हिट गीतहरु दिएका छन् | केहि उनलाई सम्झाउने चलचित्रका गीतहरु - एउटा मान्छे मन पर्छ, गीतकार :यादव खरेल ,स्वर : प्रकाश श्रेष्ठ -आशा भोशले,चलचित्र :चेलीबेटी | निधारमा लर्काएर ,गीत :दिनेश अधिकारी ,गायिका : हेमलता ,चलचित्र: चेलीबेटी | दौंतरी यो ,गीत :दिनेश अधिकारी ,गायक : प्रकाश श्रेष्ठ र सब्बिरकुमार ,चलचित्र : बिजय पराजय | संसार भरी, गीत : रमण घिमिरे ,गायक : उदितनारायण झा, अनुराधा पोड्वाल ,चलचित्र : बिजय पराजय | आँधीले रोक्न सक्दैन ,गीत :किरण खरेल,गायक:उदितनारायण झा, अनुराधा पोड्वाल ,चलचित्र :युगदेखि युगसम्म | तिन पाते डांडा काटेर ,गीत : कमल थापा , स्वर :अनुराधा पोड्वाल ,चलचित्र : युगदेखि युगसम्म | न मेरो घर छ गीत :यादव खरेल ,प्रकाश श्रेष्ठ ,साधना सरगम, चलचित्र: लोभी पापी | मन्दिरमा छ कि ,गीत :किरण खरेल ,स्वर : नारायणगोपाल ,फिल्म :माया | आँखैमा कसैको गीत :नीर शाह ,स्वर :नारायणगोपाल ,मीरा राणा ,फिल्म : माया | ए मेरी चाँचरी ,गीत : सी. के. श्रेष्ठ ,स्वर :झलकमान गंदर्भ,फिल्म :तृष्णा | राता रोयो ,गीत : किरण खरेल स्वर : प्रकाश श्रेष्ठ ,फिल्म :अधिकार | सुन सुन मायालु जोडी ,गीत :शम्भुजित बास्कोटा ,स्वर :उदित ,आनन्द ,दीपा ,फिल्म :कशम | अधुरो लाग्यो ,गगन बिरही ,पंकज उदाश ,कबिताकृष्ण मुर्ती ,फिल्म : संकल्प | आंधीसंग खेल्नु पर्छ , गीत : गगन बिरही ,स्वर :महेद्र कपुर ,फिल्म :संकल्प | थाहा छैन के ,गीत : विश्वम्भर प्याकुरेल ,स्वर: अभिजित ,फिल्म : प्रेयशी | म बशन्त हुं ,गीत : किरण खरेल ,स्वर :अभिजित ,कबिताकृष्ण मुर्ती ,फिल्म :प्रेयशी | सय डांडा ,गीत : किरण खरेल ,स्वर :उदितनारायण झा ,फिल्म: प्रेयशी | चैत्र मास ,गीत :यादव खरेल ,स्वर : अनुराधा पोड्वाल ,उपेन्द्र -फिल्म :प्रेम पिण्ड | सपना हो ,यादव खरेल ,आशा भोशले ,फिल्म : प्रेम पिण्ड | गैरी खेतको ,गीत : यादव खरेल ,स्वर : आशा भोशले ,फिल्म - प्रेम पिण्ड | जिन्दगि खोला जस्तै , गीत :यादव खरेल ,स्वर :अनुप जलोटा , फिल्म :भाउजु | चिठ्ठी आएन ,गीत :बालकृष्ण बैद्य ,उदित ,कविता फिल्म :भाउजु | सम्झना बिर्सना गीत :शम्भुजित बास्कोटा ,स्वर :उदित नारायण ,फिल्म :ट्रक ड्राईभर | भैलिनी आंयौं ,गीत :यादव खरेल ,स्वर :लोचन भट्टराई ,नुतन प्रधान ,फिल्म :स्वर्ग | छोरी मलाई ,गीत :नीर शाह ,स्वर ,उदित,ईश्वरी प्रधान ,फिल्म :स्वर्ग | म त ब रिसाउँछु ,गीत :किरण खरेल ,स्वर: कुमार शानु, फिल्म: स्वर्ग | आमा पनि गीत ,गीत :किरण खरेल ,स्वर: उदित दीपा ,फिल्म :स्वर्ग | सारंगीको धुनले ,गीत :किरण खरेल ,उदित ,साधना ,फिल्म :स्वर्ग | मैले गीत छोडी आएँ ,गीत :किरण खरेल ,स्वर :प्रकाश श्रेष्ठ ,फिल्म :सारंगी | यो साँझ यो ,नीर शाह ,स्वर :उदित ,साधना ,कुमार सानु ,फिल्म :सारंगी | यो गाउँको ठीट्टो म ,प्रेमबिनोद नन्दन ,स्वर :उदित- दीपा , चट्टै लहै ,गीत कालीप्रसाद रिजाल ,स्वर :अभिस्त ,आदित्यनारायण | पानी घट्ट ,गीत :दिनेश अधिकारी ,रामकृष्ण ढकाल ,आदित्यनारायण आदि नेपाली चलचित्रको पर्दामा मात्र होइन हरेक चलचित्र संगीतप्रेमीहरुको मन र हृदयमा गुन्जिएका चर्चित गीतहरु हुन् | यसैगरी माया नै माया छ तिम्रो गाउँमा ,बादल पारीको गाउँ ,कालो चश्मा लाउहै ,म हुँ नेपाली बाबु ,बदाम शोलीमा ,के मा तिम्रो हैनर ,रातो टिका निधारमा पनि उत्तिकै लोकप्रिय गीत हुन् उनका |,यस्ता चलचित्रका अन्य थुप्रै गीतहरु उनले नेपाली चलचित्र संगीत क्षेत्रलाई सांगीतिक उपहार दिएका छन् | कतिपय यी गीतहरु नेपाली चलचित्रसंग आधारित रेडियो नेपाल लगायतका रेडियो स्टेसनहरुबाट दिनहुँ श्रोताको रोजाईमा आज पनि उत्तिकै गुन्जिरहेका छन् | कतिपय चलचित्रका उनका संगीतहरु अत्यन्तै व्यावसायिक लाग्छन् भने कतिपय गीतहरु सुगम प्रकृतिका छन् ,कालजयी प्रकृतिका गीतहरु समेत उनले चलचित्रका लागि संगीत गरेका छन् | चलचित्रको कथाबस्तु अनुशार सही र निर्दिष्ट शब्द छान्न सक्नु ,त्यस बमोजिम उत्कृष्ट संगीत दिनु र त्यस बमोजिम उपयुक्त गायक गायिकाहरु रोज्नु उनका सबल पक्षहरु हुन् | उनि भन्छन- '' हामी दुई ढुंगा बिचको तरुल मात्र रहेनौ ,दुई अती शक्तिशाली राष्ट्रहरुको बीच संस्कृतीलाई जोगाउने अभिभारा पनि हाम्रो काँधमा छ , हामिले खासगरी अहिले पनि हिन्दुस्तानी संगीतको प्रभावलाई निरुत्साहित गर्न संगीतमा नयाँ नयाँ शैलीहरु अपनाउनु पर्ने आवश्यकता छ ,मैले बिगतमा नेपाली चलचित्रमा जे जस्ता संगीतहरु गरें यही दृष्टिकोणबाट लक्षित भएर गरें , हरेक नेपाली नेपाली गीतमै नाचोस् ,हरेक नेपाली नेपाली गीतमै रमाओस ,झुमोस बिदेशी गीतको सहारा लिन नपरोस , यहि सोच अनुरुप मैले बढी भन्दा बढी मेरा प्यारा श्रोता र दर्शक मुखी गीतहरु बनाएँ ,यसमामा कति सफल भएँ या के भएँ त्यो ईतिहासलाई म छोड्न चाहन्छु |
मेरो बिचारमा उनि :
हरेक युगले थोरै यस्ता यस्ता सन्तान जन्माउँछ ,जसले आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दछ | उनि एक त्यस्तै भाग्यमानी संगीतकार हुन् | आफ्नै विचारका छन् ,आफ्नै स्टाईलका लाग्छन ,लवाई खवाईमा सधैं शौखिन ,सदाबहार मुद्रामा सधैं हँशिलो व्यक्तित्व ,सेलिब्रिटीको जीवन ज्युन जान्ने , सधैं स्वस्थ तन्दुरुष्ट र हट्टाकट्टा अनि उत्तिकै लक्की संगीतकार पनि | किनकि नेपाली संगीतका संस्थापक नातिकाजी ,शिवशंकर ,फत्तेमान ,बच्चु कैलाश ,अम्बर गुरुङ ,तारादेबी ,उदित नारायण , प्रकाश श्रेष्ठ ,रबिन शर्मा , दीपक खरेल ,आदिसंगै नयाँ पुस्ताका रामकृष्ण ढकाल ,राजेशपायल राई ,एम बराल ,लोचन भट्टराई, स्वरुपराज -सत्यराज ,मनोजराज आदि हुँदै अन्जु पन्त ,आदि सम्म पनि काम गरे | जोसंग स्टुडियो बाद्यबादन देखि लिएर नेपाली चलचित्र क्षेत्रमा समेत संगसंगै झैं संगीत निर्देशन गर्ने अवसर मिल्यो मेरो पनि ! धेरै सांगीतिक कार्यक्रमहरुमा समेत सहकार्य गर्ने समेत अवसर जुरयो | म नेपाल सांगीतिक संघको महासचिब हुँदा उनि सल्लाहकार थिए ,उपाध्यक्ष रहंदा उनि संरक्षक बने ,संघमा निकै राम्रो सहयोग र सहकार्य समेत गरेका थिए ! सम्झन्छु ,२९ वर्ष अघि ( २०४३ सालमा ) रेडियो नेपालको आधुनिक संगीत स्टुडियोमा एउटा गीत रेकर्डको शिलशिलामा उनिसंग पहिलो जम्काभेट भएको थ्यो | रेडियो नेपालको बाद्यबादक थिएँ,केहि बर्ष पछि बरिष्ठ बाद्यबादक बने | दैनिक श्रष्टाहरुका गीत रेकर्डिङ् गर्ने क्रममा २०४३ देखि २०५२ साल सम्ममा उनका लगभग २ दर्जन गीतहरुमा मैले मेंडोलिन र गितार बजाएको छु | मैले बाद्यबादन गरेका कतिपय उनका गीतहरु म अहिले पनि गुन्गुनाउंछु ,जुन गीतहरु प्रसारण हुँदा मेरो मेंडोलीनबाट प्रष्फुटित धुनहरु पनि संगै गुन्जिरहेका हुन्छन, त्यसले मेरो सांगीतिक संघर्षको एउटा कालखण्डको प्रतिनिधित्व गरिरहेको अनुभूत गर्छु ,आजको दिनमा फर्केर हेर्दा पुलकित हुन्छु त्यसै त्यसै | मैले पनि बाद्यबादन गरेका ति उनका सम्झनामा रहेका गीतहरु -हेरेको तिमीलाई (रचना : विश्व बल्लभ , स्वर ;सपना श्री ) ,यात्रा रहेछ जिन्दगि ( गीत :जीवनाथ धमला ,स्वर ;राम कृष्ण ढकाल ),धेरै दिनभो तिम्रो झझल्को (गीत ;विश्व बल्लभ ,स्वर :अमर तन्डुकार )बोझ लाग्ने माया पाएँ (गीत ;उत्तम श्रेष्ठ ,स्वर ;सुनिता सुब्बा )स्याउली गर्न (गीत :यादव खरेल, स्वर ;सुदेश शर्मा ),चिन्दै नचिनेको (हेम हमाल स्वर :दीपक खरेल ) ,साँच्चै लाग्छ ( शास्वत पराजुली ,स्वर ; सुदेश शर्मा ) ,छाडी जाने बैगुनी (बिनोद ढकाल ,स्वर मिलन चख्खु ) आदि करिब २ दर्जन छन् | जुन गीतहरु रेडियो नेपालको आधुनिक संगीत स्टुडियोमा २०४३ साल देखि २०५१ साल सम्म रेकर्ड भएका हुन् )
मैले रेडियो नेपालको स्टुडियोमा उनलाई एक ,अत्यन्तै उर्जाशील , गतिवान ,प्रतिभाशाली ,सांगीतिक परिपक्कता भएको संगीतकारकोरुपमा पाएको थें | गीत रेकर्ड हुँदा आफ्ना गीतका सा- साना इन्टरल्युट ,प्रील्युट् र कतिपय काउन्टर म्युजिक समेत कण्ठस्थ सुनाउंथे हामीलाई | प्राय गीतका यस्ता धुनहरु सबै आफै सिर्जना गर्थे उनि | त्यसलाई हुबहु धुनमा उतार्थ्यौँ हामी | उनका गीतहरुमा बाद्यबादन गर्दा म्युजिसियनहरु खुशी मान्थे ,सरलतामा मिठास ,सरलतामा 'क्याची 'धुन सिर्जना गर्नु उनको बिशेषता थ्यो | समुहका सबै साथीभाईहरुसंग आत्मिय बोलीबचन ,हस्सी मजाक गर्न समेत रुचाउने , रमाईलो गर्ने,समुहमा अरुको आइडिया राम्रो आएको फील भएमा त्यसलाई छिट्टै अनुशरण गर्ने पनि बानि थ्यो | उनको गीत रेकर्ड हुँदा स्टुडियोमा निकै राम्रो कम्बिनेसन हुन्थ्यो म्युजिकमा | छाला बाजाको एक कम्बिनेसन ,तार बाजाको अर्को कम्बिनेसन् , तार बाजामा पनि भ्वाईलिन बाजाको छुट्टै कम्बिनेसन , ब्लोईङ् इन्स्ट्रुमेन्ट ( बाँसुरी ,सेक्सोफोन, आदि )को छुट्टै कम्बिनेसन र त्यस भित्र गायन र एरेञ्जमेन्ट पक्ष को बेग्लै प्रस्तुति | शानदार लाईभ रेकर्डिङ् हुन्थ्यो |शायद त्यसैले होला उनका गीतहरु आज पनि रेडियो नेपालका श्रोताको रोजाईमा छन् ,लाखौँ संगीतप्रेमीहरुको हृदयमा छन् | सुगम संगीतको ईतिहासमा ति गीतहरुले बेग्लै स्थान बनाएका पनि छन् | संगीतको सहकार्यमा कहिलेकाही मन नमिल्न सक्छ ,बिचार नमिल्न सक्छ , संगीतका नमिलेका सुरहरू मिलेझैं केहि नमिलेका भनिएका मनहरु पनि जोडिन सक्छन | यो जीवनको वास्तविकता हो |
शम्भुजित बास्कोटा नेपाली संगीतका एक शक्तिशाली संगीतकार हुन् | शक्ति सिर्जनाको हो | शक्ति उनको गतिशिलता र त्यसबाट प्राप्त परिणामको हो | उनले जुन संख्या र गुणमा नेपाली आधुनिक तथा चलचित्रका संगीतहरु गरे नेपाली संगीत प्रेमीहरुका लागि उनि सदा सदा सम्झीईरहने संगीतकारकारुपमा रहनेछन | न नेपाली चलचित्रले उनलाई भुल्न सक्छ, न आधुनिक सुगम संगीतका पारखी अनुरागीहरुले नै भुल्न सक्नेछन | यो उनको सिर्जनात्मक बिजय हो | उनको जीवनको वास्तविक सचाई पनि यहि हो | जयहोस संगीतकार ,गायक ,संगीत निर्देशक तथा यस युगका एक होनाहार श्रष्टाको | शम्भुजित दाई | तपाईंको संगीत यात्रा अझै जारीरहोस , बाँकी जीवन यसैमा समर्पित रहोस | नयाँ पुस्तालाई तपाईका अनुभव अनुभूति र ज्ञानहरु रुपान्तरित हुँदै जाउन | आज तपाईं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपति हुनुहुन्छ ,यसलाई जीवनकै महत्वपुर्ण अवसरकारुपमा ग्रहण गर्दै नेपाली संगीतको बिकाश बिस्तारमा योगदान अतुलनीय रहोस , अझ धेरै सफलताको शुभकामना |
टीका भण्डारी
संगीतकार, गायक
उप- निर्देशक ,रेडियो नेपाल .

No comments:

Post a Comment