F

Saturday, August 22, 2015

बामदेवले अमरेशलाइ भने ,जे मन लायो त्यही बोल्ने ?

२०७२ भदौ ५ गते

५ भदौ, काठमाडौं । संसदीय समिति बैठकमा आपत्तिजनक कुरा गरेको भन्दै गृहमन्त्री बामदेव गौतमले कांग्रेस सभासद अमरेशकुमार सिंहलाई अनुशासनमा राख्न राज्य व्यवस्था समितिका सभापतिलाई आग्रह गरेका छन् ।

राज्य व्यवस्था समितिको शनिबारको बैठकमा गृहमन्त्री बामदेव गौतमलाई लक्षित गर्दै सभासद सिंहले सशस्त्र प्रहरीको २४ हजार जनशक्तिमध्ये २३ हजार शक्ति मधेसीलाई दमन गर्न तराईमा परिचालन गरेको आरोप लाएपछि गौतमले तत्कालै आपत्ति जनाएका हुन् ।

सिंहले अमर्यादित र वाहियात कुरा गरेको भन्दै यस्ता कुरा गर्ने हो भने समिति बैठकमा नआउने भन्दै सभापति दिलबहादुर घर्तीसँग असन्तुष्टि व्यक्त गरे । ‘जे मन लाग्यो त्यही भन्ने ?’ गौतमले भने-‘यस्तो हो भने समितिमा किन आउने ? के जवाफ दिने ?’

राज्य व्यवस्था समितिमा उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेशकुमार सिंहको विवादस्पद र साम्प्रदायिक भड्काउवाला भनिएको अभिव्यक्तिको अनुसन्धान गर्ने एजेण्डा थियो ।

बैठकमा कांग्रेसका रामकृष्ण यादव, एमालेका यज्ञराज सुनुवार, जनमोर्चाका चित्रबहादुर केसी लगायतका सभासदले अराजक अभिव्यक्ति दिने नेतालाई कारवाही गर्नुपर्ने बताएका थिए ।

सभासदहरुको कुरा सुनिसकेपछि गृहमन्त्री गौतम पुनः अमरेशकुमार सिंहतिर फर्किए । उनले भने-‘जनता भड्काउन जे मन लाग्यो त्यही भन्ने ?

उनले सशस्त्र प्रहरीको संख्या ३६ रहेको र तीमध्ये ९ हजार ९ सय सशस्त्र प्रहरी तराईको सीमा क्षेत्रमा सिमा सुरक्षा र भन्सार सुरक्षाका लागि परिचालन गरिएको बताए । त्यतिकै संख्या भन्दा बढी पहाडमा परिचालन भएको पनि उनले बताए ।

कांग्रेस सभासद सिंहले मधेस आन्दोलनमा सरकारले भिजलान्ते प्रयोग गरेको आरोप लगाएपछि गृहमन्त्री गौतमले प्रमाण दिन चुनौती दिएका थिए । 

इतिहास पढाए बामदेवले ?

गृहमन्त्री गौतमले सभासदहरुलाई करीव दश मिनेट नेपालका शासकहरुको इतिहास धारा प्रवाह रुपमा पढाए । मान्छे भड्काउनका लागि विद्धान भनिने सभासदहरु नै गलत कुरामा बहकिएको उनले बताए ।

मधेस सधैं विभेदमा परेको भन्ने अमरेशको भनाइलाई जोड्दै गृहमन्त्री गौतमले नेपालको इतिहासमा सबैभन्दा लामो समय मधेसीले नै शासन गरेको बताए ।

गृहमन्त्री गौतमले भने-इसापूर्वक १ हजार वर्षसम्म शासन गर्ने समुदाय अहिलेको यादव थिए । त्यसपछि एक हजार वर्ष किरातीले शासन गरे । लिच्छवीहरु बैशालीबाट आएका थिए । पछि कुशीनगरबाट आएका मल्लहरुले पुग नपुग ९ सय वर्ष शासन गरे । मल्ललाई हराएर गोरखाका शाह वंशले शासन गरेका हुन्, उनीहरु पनि राजस्थानबाट आएका हुन् ।’

गौतमले कुनै पनि राजाको चरित्र नै शोषकी हुने गरे पनि सिंगो समुदाय कहिल्यै शोषक वा सामन्त नहुने बताए । ‘तर केही बिद्धान सभासद नै जबर्जस्ती पहाडे बाहुनक्षेत्री विरुद्ध आधारहीन आरोप लाएर जनता भड्काउन खोज्दैछन्’ गौतमले भने ।

मान्छेलाई भड्काउन जे पनि भन्ने ? गौतमले यो प्रश्न गर्दा अमरेश मुसुमुसु हाँसेर उनको ‘इतिहास प्रवचन’ सुनिरहेका थिए । गौतमले भने-इतिहासका प्रमाण र किताब लिएर बहस गर्न तयार छु, यो देशमा को को शासक थिए भन्ने कुरा । माननीय भएर जे पायो त्यही बोल्ने ?

अध्ययन समिति गठन

यसैबीच यादव, महतो र सिंहको भाषण तथा ५० लाख घोषणा बारे अध्ययन गरी कारवाहीको सिफारिस गर्न राज्य व्यवस्था समितिले एक उपसमिति गठन गरेको छ । उपसमितिमा सभासदहरु सञ्जय गौतम, श्याम ढकाल, हृदयराम थानी, धर्मेन्द्र साह तेली, शिवलाल थापा र महेन्द्रबहादुर शाही लगायत छन् ।

- See more at: http://www.onlinekhabar.com/2015/08/315491/#sthash.o7aP7ear.03cqYdgG.dpuf

No comments:

Post a Comment