F

Saturday, September 5, 2015

वीरगन्जमा शवयात्रा, उर्लियो मानव सागर

भाद्र १९. २०७२

वीरगञ्जमा प्रहरीको गोलीले मृत्यु भएका ५ जनाको शवयात्रामा शनिबार वीरगन्जमा व्यापक सहभागीता देखिएको छ। स्थानीय प्रशासनले मृतक पाँचै जनालाई सहिद घोषणा, घाइतेहरुको उपचार र क्षतिपूर्तिको लागि सिफारीस गरेपछि आन्दोलनरत पक्ष र मृतकका आफन्तहरु अन्त्येष्टिका लागि सहमत भएपछि वीरगन्जमा शवयात्रा निकालिएको हो।

सोमबार स्थानीय प्रशासनसँग भएको सहमति अनुसार सवयात्रा निकाल्नको लागि बिहान ९ बजेदेखि १२ बजेसम्म कर्फ्यु हटाइएको थियो। तर शवयात्रामा देखिएको सहभागीतामा कुनै अप्रिय घटना नहोस् भन्ने बिषयलाई मध्यनजर गर्दै प्रशासनले कर्फ्युको समयालाइ २ बजेसम्म गरेको छ।

गत १४ र १५ भदौमा वीरगञ्जमा  झडपमा प्रहरीको गोली लागि दिलिप चौरसिया, धर्मराज सिंह, दिनानाथ साह, जयप्रकाश साह तेली र सोहन साहको ज्यान गएको थियो।

बिहान ११ बजे सुरूभएको शवयात्रा अस्पतालबाट घण्टाघर, इनरबाइपास, नगवा, नयाँ बसपार्क, लक्ष्मनवा चोक, गण्डक, पावर हाउस, राधेमाइ हुँदै तिलावे नदीमा हिन्दु रितीरिवाज अनुसार  अन्तेष्टि गरिने सङ्घीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवले जानकारी दिए।

Friday, September 4, 2015

हथियार बोक्नेलाइ गोली हान


१९ भदौ, काठमाडौं ।

गृह मन्त्रालयले संयमता अपनाउँदा आन्दोलन थप हिंसात्मक बन्दै गएको निष्कर्ष निकालेको छ । आपराधिक समूहको घुसपैठ बढ्दै गएको निष्कर्षसहित गृहले हतियारसहित आन्दोलनमा उत्रनेलाई गोली हान्न निर्देशन दिएको छ ।

आन्दोलनकारीमा घरेलु हतियार मात्र होइन, पेस्तोल र बन्दुक बोक्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष गृहको छ । शुक्रबार पनि बर्दियामा ड्युटीमा खटिएका प्रहरीको गोली हानेर हत्या भएको थियो ।

‘लुकेर प्रहरीलाई गोली हान्नेहरू आन्दोलनकारी नभई अपराधीहरू हुन्,’ गृहका एक अधिकारीले भने, ‘यस्तो अवस्थामा प्रहरी संयम हुने अवस्था छैन, हतियार बोकेर आन्दोलनमा आउनेलाई अपराधीको रूपमा व्यवहार गर्न निर्देशन दिएका छौँ ।’


आन्दोलनमा आपराधिक गतिविधि बढ्दै गएको भन्दै गृहले कडा नीति लिन लागेको हो । ‘धेरै घटनामा आन्दोलनकारीले गोली हानेका छन्,’ प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बमले भने, ‘त्यस्तो अवस्थामा प्रहरीले आपराधिक व्यक्तिहरूमाथि गर्ने रणनीति अपनाउनेछ ।’

गत मंगलबार वीरगन्जमा आन्दोलनकारीले ठाउँठाउँमा गोली चलाएको पर्सा प्रहरी प्रमुख एसपी दिवेश लोहनीले दाबी गरे । तराईका अन्य जिल्लामा पनि आन्दोलनकारीले प्रहरी बिट तथा सरकारी कार्यालय जलाउने गरेको प्रहरीले जनाएको छ । तराईको एक सशस्त्र समूहले विज्ञप्ति निकालेर प्रहरीविरुद्ध हतियारसहित आक्रमण गर्ने निर्देशन दिएको थियो ।

तराईका नेताहरूले सशस्त्र समूहसँग आन्दोलनमा सहकार्यका लागि वार्तासमेत गरेको प्रहरीले जनाएको छ । पश्चिम र मध्यतराईमा आन्दोलन थप हिंसात्मक बनाउने सूचनाका आधारमा सुरक्षा निकायले कडा नीति लिन लागेको हो ।

संघीयताको सीमांकनको विषयमा विगत २६ दिनदेखि भइरहेको आन्दोलनमा नौ प्रहरी, १५ आन्दोलनकारी, एक नाबालक र एक सर्वसाधारण गरी २६ जनाको मृत्यु भइसकेको छ । २१ दिनदेखि तराईका जिल्ला बन्द छन् । आजको नयाँ पत्रिकाबाट 

एकता खोज्दै सपन श्रेष्ठ (भिडियो सहित )

चर्चित गायक सपन श्रेष्ठको स्वर रहेको ‘मेरो देश नेपाल’ बोलको राष्ट्रिय भावनाको गीती भिडियो सार्बजनिक भएको छ ।
 ‘भुन्टे दाई’ एल्बममा समाबेस यो गीतको शब्द तथा संगीत पनि गायक श्रेष्ठकै रहेको छ । सार्बजनिक भिडियोलाई प्रदिप कस्पालले निर्देशन गरेका हुन्, थुप्रै म्युजिक भिडियो निर्देशन गरेका कस्पाल हाल अमेरिका बसोबास गर्दै आएका छन । निकै कलात्मक बनेको भिडियोले देशको माया, प्रकितिक प्रकोप, राजनीतिक अस्थिरता, बुद्धलाइ शान्ती फर्काउन आब्हानका कुरा का साथै सबैलाई एक जुट भई भेद भाब हटाई यो अवस्थामा देश बनाउन लाग्नका लागि प्रेरित गर्छ । उक्त भिडियोलाई जीवन तामाङ र सुष्मा कार्कीले कोरियोग्राफी गरेका छन भने थुप्रै कलाकारहरुको अभिनय रहेको छ । प्रदिप कसपाल्को निर्देशनमा हरी हुमागाईले खिचेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन ।

भिडीयो हेर्न तल लिंक क्लिक गर्नुहोस


Thursday, September 3, 2015

गुगल ब्वाय आदित्य : भ्रम र यथार्थ

 0

नेपाली गुगल-बोय भनेर पनि चिनिने आदित्य दाहाल उनको असाधारण क्षमताका कारण चर्चित छन्। बिशेष दिमागी अवस्थाका या दिमागी चोट लागेका केही व्यक्तिहरुको विलक्षण गणितीय क्षमता हुन्छ जसलाई सभाण्ट सिन्ड्रोम भनिन्छ। रिपोर्टहरु हेर्दा लाग्छ, आदित्य यस सभाण्ट वर्गमा पर्दैनन्। उनी औसत भन्दा निकै मेधावी तर अरु हिसाबले सामान्य नै लाग्छन्।

उनी भर्खर ५ टेकेका बालक हुन् तर उनी त्यो उमेरका बालबालिकाको तुलनामा निकै फरक र प्रतिभावान देखिन्छन्। पत्रपत्रिका र टिभीका रिपोर्टबाट यति कुरा बुझ्न सकिन्छ कि उनी असाधारण हुन्। यसमा विमति कसैको पनि छैन होला। तर हालै उनको बारेमा कतिपय कुराहरु भने अन्तत: उनैलाई हानी गर्ने गरी उचालिएको छ। हाम्रो समाज साधारणतया अलि लहडे खालको छ र हामी थाहै नपाइ बहकिन्छौ। आदित्यको सन्दर्भमा उनको भलो नाचिताउने कोही पनि छैन होला, तर हामी थाहै नपाई उनलाई अन्याय त गरिरहेका छैनौँ? आउनुहोस् केही चर्चा गरौँ।

हालै अनलाइनमा उनका बारेमा लेखिएका केही हरफहरु अचम्म लाग्ने खालका छन्। यिनै आधारमा अब आउनुहोस् उनीमाथि गरिएका अन्याय केलाउँ।

१) भारतका कौटिल्यले आफुले पढेको देखेको र सुनेको आधारमा ज्ञानको भण्डार विकास गरेका हुन् भने आदित्यले आफूले नदेेखको, नसिकेको, नसुनेको विषयमा पनि जवाफ दिन्छन्।

उनी तिक्ष्ण दिमागका हुन् तर “सुन्दै नसुनेको, नदेेखको, नसिकेको कुरामा ज्ञान” भन्नु अतिरन्जित हो । बालमस्तिष्क बिकासको हालसम्मको अनुभवलाइ यसले सिधै चुनौती दिन्छ, जुन बैज्ञानिक भन्दा पनि प्यारानर्मल क्षमतामा पर्छ । यदि यसलाई प्रमाणित गर्न सक्नुहुन्छ भने जेम्स रयान्डी एजुकेसनल फाउन्डेसनले दस लाख अमेरिकी डलरको पुरस्कार दिन्छ । यत्रो राशीको पुरस्कार किन नथाप्ने ?

२) आदित्यमा क्रमिक रुपमा नभई साढे तीन वर्षको उमेरमा एकाएक यस्तो क्षमता उत्पन्न भएको हो ।
बाल मनोबैज्ञानिकहरुका अनुसार साधारणतया बच्चाहरु ५ महिनाको उमेर भित्र आफ्नो नाम चिन्न सक्छन भने १ बर्षको हुँदा सम्म ५० भन्दा बढी शब्द जान्दछन । १८ देखि २१ महिना तिर उनीहरुमा भाषाको बिष्फोट नै हुन्छ र दिनमै औसत ९ नयाँ शब्दहरु सिक्न सक्छन । हामि औसत बच्चाले बोलेकै सुनेर पनि यति सानो बच्चाले यस्तो कसरि भन्यो होला, या कसरि जान्यो होला भनेर धेरै पटक अचम्मित् परेका हुन्छौं । तर बच्चाहरुको भाषा सिकाइमा उनीहरुको वरपर, घरका हरुले बोलेको कुराले ठुलो असर गरिरहेको हुन्छ । उनीहरु आफ्नो वरपर मान्छेहरु कसरि बोलिरहेका छन्, के को बारेमा बोलिरहेका छन् भनेर सचेत भैरहेका हुन्छन र सिकिरहेका हुन्छन । भाषिक हिसाबले राम्रो र गहन शब्दहरु प्रयोग गरि समसामयिक कुराहरुमा छलफल चलिरहने वातावरणमा हुर्केको बच्चाहरु मा यस्तो भाषाको विकास राम्रो हुन्छ । उनीहरुले बोल्न नजान्दै पनि यति धेरै कुरा सिकिसकेका हुन्छन कि त्यो हामीलाइ अपत्यारिलो लाग्छ । करिब ३ बर्षको उमेर देखि बच्चाहरुले छोटा बाक्यहरु बनाउन सक्ने हुन्छन भने ३ देखि ५ बर्ष सम्ममा कठिन बाक्य मात्र बनाउन सक्ने नभई बाक्यहरुको भाव र अर्थ बुझ्ने र दोहोरो बात-चित गर्नमा निपुण भैसक्छन । यो भाषिक दिमाग बिकासक्रम चाही साधारण बच्चाहरुको हो, या भनौ औसत हो । यसमा पक्कै पनि केहि बच्चाहरुको विकास छिटो र तुलनात्मक हिसाबमा उच्च हुन्छ । आदित्य यस्तै वर्गमा पर्न सक्छन | उनी तिक्ष्ण दिमागका हुन् तर “सुन्दै नसुनेको कुरामा ज्ञान” भन्नु अतिरन्जित हो ।

३) आदित्यको शारिरीक दुर्वलता सुरु भएको केहि समयपछि दिमागी क्षमता उजागर भएको हो । बोल्न पनि नसक्ने उनी लेखेर मात्रै जवाफ दिन सक्छन्।

बालमनोविज्ञले अवलोकन गरेर निष्कर्ष निकाल्दा मात्र जरो कुरा थाह होला, तर एउटा सामान्य अनुमान के पनि लगाउन सकिएला भने — उनको शारीरिक समस्या शुरु हुने, बोल्न गाह्रो हुने समय, र दिमाग तेज नै रही भाषा निपुणताको समय सगै पर्नाले उनको दोहोरो बातचित या सम्बाद लेखाइ को माध्यमबाट प्रस्फुटित भएको हुन सक्छ । यहाँ निर उनको क्षमता असाधारण देखिन्छ । साधारणतया यो उमेरका बच्चाले बोलेर गर्ने दोहोरो सम्बाद लेखेर गर्न सक्नु उनको ठुलो प्रतिभा हो । बोलाईको कमजोरीलाइ पूर्ति गर्न वाक्य-लेखनको क्षमताले असाधारण गति लिएको हुन सक्छ ।

४) तर आदित्य अहिलेसम्म स्कुल भर्ना भएका छैनन् । उनले कसैको सहयोगबिनै एकाएक अक्षरहरु लेख्न थालेका हुन् । आदित्यले नेपाली तथा अंग्रेजीमा मात्रै नभएर जापानी, रसियन, चाइजिन जस्ता भाषामा पनि शब्दहरु लेखेका छन्, जून कौटिल्यको क्षमताभन्दा बाहिरको कुरा हो ।

तपाइहरु मध्य इन्टरनेटको पहुच भएका धेरैका बच्चा-बच्चीले २ वर्ष पनि नहुँदै, आफुले सिकाउंदै नासिकाइ, खरर ABCD गाउने र अक्षर चिन्ने हुन्छन । खासगरी घरमा अरुले फिटिक्क अंग्रेजी नबोले पनि यु-ट्युबमा बच्चाका भिडियो हेर्ने कतिपय ३ बर्षको बच्चाले खरर अंग्रेजी बोलेका पनि होलान । इन्टरनेट भए नभए पनि आदित्यको परिवार शिक्षित भएकोले कहिँ न कहिँ अक्षरहरु को एक्सपोजर भएको हुनु पर्छ । अर्को कुरा, आफ्नै बच्चाहरुलाई राम्रो संग नियाल्नु भयो भने थाह हुन्छ कि धेरै बच्चा हरुमा हिजो अस्ति सम्म नाबोलने, आज फरर बोल्न थाल्छन र १-२ दिन मै भाषा निखारिएर आउछ । यो यति छिटो हुन्छ कि चमत्कार नै लाग्छ । त्यो एकाएक भएको हैन कि त्यतिबेला सम्म भएको भाषिक ज्ञान बोलीको रुपमा प्रस्फुटित भएको हो । लेख्ने कुरामा चाही अघि नै भने जस्तै आदित्य मा छिटो विकास भएको देखिन्छ| शब्द पक्कै लेखे, तर कहीं कतै नदेखी, नसुनी रस्सियन, कोरियन, चाइनिज भाषामा शब्द लेख्ने भन्नु अतिरन्जित हो । उनी जे हुन्, त्यसको कीर्ति गाऔँ , उनी जे हैनन् त्यो उनीमाथि जबर्जस्ति नाथोपरौं ।

५. आदित्य भविष्यका कुराहरु माथि पनि जवाफ दिन्छन् । यद्यपि, पछिल्लो समय सुरक्षा चुनौतिका कारण भविष्यवाणी लेखाउन कम गरिएको छ |
यहाँ निर चाही उनलाई ठुलै अन्याय गरिएको छ । संविधान कहिले बन्छ ? ९ रेक्टर स्केलको भुकम्प आउँछ कि आउदैन ? जस्ता प्रश्न तेर्स्याएर भविष्यवाणी गर्न लगाउनु र त्यो सत्य हुनुपर्ने अपेक्षा गर्नु मुर्खता हो । यसले उनको क्षमता भन्दा पनि हाम्रो अन्ध-बिश्वासलाइ टड्कारो रुपमा प्रकाश पार्छ।

६) शिशु अवस्थामै आदित्यको अध्यात्ममा गहिरो रुची र दख्खल देखिन्छ । उनी मन्दिर जान रुचाउँछन् । धार्मिक अनुष्ठानहरुमा रमाउँछन् । कौटिल्यमा धार्मिक प्रवृत्ति देखिदैन ।

यो पनि अन्याय नै हो । बच्चाहरु सामाजिक संकेत बुझ्न माहिर हुन्छन । वरपरकाले आफुले के गर्दा राम्रो मानेका छन् त्यता तिर रुचि राख्छन । जब त्यो कुरा बारम्बार दोहोरिन्छ, उनीहरुको दिमागी बिकास पनि त्यतैतिर ढल्कदै जान्छ । उनलाई धार्मिक बनाउने कि अरु शिक्षातिर उन्मुख गराउने, त्यो उनको बातावरणले गराउँछ ।

७. आदित्य चेतनामूलक सन्देशहरु खुबै लेख्छन् । आफ्ना सन्देशमा उनी देशको राजनीतिक, सामाजिक र सांस्कृतिक सुधारका लागि बाटो पनि देखाउँछन्।

उनको एक्सपोजर राजनीति र धर्ममा धेरै गरिएको हुदा उनको बोलीचालीमा यस्ता कुराहरु आउनु असाधारण हैन तर ५ बर्षे बालकले चेतना दिनुपर्ने समाज चाही पक्कै असाधारण हो ।

यी त भए अनलाइनमा गरिएका चर्चा । आदित्यको बारेमा गरिएका यस्ता अनेकौ कुराहरुले उनलाई न्याय भएको छ त ? अभिभावकले पनि एक पटक गहिरिएर सोच्नु पर्ने लाग्दछ ।

अन्ध-बिस्वासले गाँजेको हाम्रो समाजमा बालकमा अलौकिक क्षमता भई देबररुपमा प्रकट भएको र उनैले देश र देशबाशीको रक्षा गर्न सक्छन जस्ता भनाइहरु सजिलै बिक्न सक्छन । खासगरी उनलाई उमेर-असंगत प्रश्नै-प्रश्न गर्ने, र दिनहु सत्संग र भजन मण्डलीमा लामालाई जसरी विराजमान गराउँदै जादा उनमा बिचलन नआउला भन्न सकिन्न।

यो कुराको छनक आउँछ “९ रेक्टरको भूकम्प आउँछ कि आउदैन” भन्ने प्रश्न र त्यसको जवाफमा । यस्ता भूकम्प जस्तो कुराको भविष्यवाणी कछुवाले विश्वकपको भबिष्यवाणी गरे भन्दा फरक हुँदैन । तर उनको जवाफ सुनेर अचम्मित परिन्छ । उनले भनेछन्, “आउदैन, म सबैको रक्षा गर्छु” । पक्कै पनि उनले धेरै पटक “रक्षा गर” भनेको सुनेको हुनुपर्छ ।

आदित्यका अभिभावकलाइ यो निर्णय गर्न कठिन पक्कै छ कि छोराको भबिष्यलाइ कता डोहोर्याउने । एकातिर उनको क्षमताले ठुलो नाम र वाहि वाहि भएको छ भने अर्को तिर उनको बालक भएर बस्न पाउने अधिकार कुण्ठित भएको छ, र तिक्ष्ण बुद्धिको दुरुपयोग भएको छ । उनलाई बिस्तारै पढ्ने, ज्ञान भण्डार गर्ने र गणितीय क्षमताको विकास गराउने तिर भन्दा पनि उनलाई धार्मिक र अन्धबिस्वासका कुरा हरु तिर ध्यान केन्द्रित गर्न खोजिदै छ । उनि अहिलेकै हिसाबले लिएर जाने हो भने भोलि गएर गुरु र बाबाको भिडमा एउटा अर्को “बाबा” बन्ने अड्कल गर्न सकिन्छ । उनका अविभावकले यहि चाहन्छन भने कुरा अर्कै हो, यस धारमा लागेर पनि नाम र पैसा भरपुर कमाएका प्रसस्तै देखिएकै छ । तर यसले न त समाजले केहि पाउँछ न त उनको क्षमताको न्याय हुन्छ । सत्य त यो हो कि मनगढ़ंते भविष्यवाणी गर्ने “बाबा” हरुले भन्दा रातो, पहेलो, र हरियो चिन्ह लगाइदिने इन्जिनियरहरुले रक्षा गर्छन भूकम्पमा ।

नाना भाँतीका प्रश्न तेर्स्याएर यो उमेरको द्रुततर बढ्दो दिमागलाइ बिचलित र संकुचित पार्नु पक्कै पनि राम्रो हैन । एउटा उदाहरण लिउँ: २८९ x १५९ = कति हुन्छ जस्ता प्रश्न अप्रत्यासित रुपमा गर्दा पनि प्रश्न भुइमा झरन नपाउंदै उत्तर दिन सक्ने सभाण्ट सिन्ड्रोमले ग्रसित ड्यानियल टामेटले एउटा अन्तर्वार्तामा भनेका रहेछन: “मेरा अभिभावकले मलाइ छिमेकीको लागि चमत्कार देखाउन कहिलै दबाब दिएनन । उनीहरुलाई थाह थियो कि मा फरक थिएँ तर सकेसम्म म सामान्य जीवन जिउन सकूँ भन्ने चाहन्थे” (हेर्नुस). उनी पछि गएर एक ठुला लेखक बने र प्रेरणादायी प्रवचक पनि । आदित्य यो वर्गमा नपरे पनि उनको तिक्ष्ण दिमागलाइ सहि मार्गमा लग्न सके उनको जीवन सजिलो र सार्थक हुन सक्छ । उनको बिलक्षण प्रतिभाको असर राम्रो भएको छ कि उनले शारिरीक उपचार पाउने भएका छन् । उनि जे छन् अरु भन्दा माथि छन् तर हाम्रो रहरले उनलाई जबर्जस्ति अलौकिक देखाइ उनको बालक भएर जिउन पाउनु पर्ने अधिकार खोस्नु पर्ने केहि छैन । अबिभावक, उनको भलो चाहने आफन्त र मिडियाले पनि यो मनन गर्नु पर्ने देखिन्छ । उनि छिट्टै ठिक भएर आउँन् र धेरै पढि देश र समाजको हित गर्न सकुन भन्ने शुभकामना ।

साभार नेपाली क्यानाडा पोष्ट 


Wednesday, September 2, 2015

युवा संघले बदला लिने

ओलीको निर्देशन लगत्तै युवा संघद्धारा बदलाको चेतावनी

पहारी भन्छन्-मधेशमा कार्यालय जलाउनेको हिसाब किताब हुन्छ

२०७२ भदौ १७ गते ११:०७ मा प्रकाशित

 536  8

१७ भदौ,काठमाडौं । एमाले सम्बद्ध युवा संघ नेपालले तराई मधेसका जिल्लामा एमाले जिल्ला कार्यालय जलाउने,नेता तथा सभासदका घरमा आक्रमण गर्नेहरुको हिसाब किताब राखेर बदला लिने चेतावनी दिएको छ ।

युवा संघ महासचिव राजिव पहारीले बिहीबार विज्ञप्ति जारी गरी पार्टी अध्यक्ष केप ओली,तथा नेताहरु माधव नेपाल, झलनाथ खनाल, सत्यनारायण मण्डल, बैजनाथ चौधरी लगायतको नामै किटेर धम्की दिनेहरुलाई नछाड्ने जनाएका छन् ।

पार्टी अध्यक्ष केपी ओलीले एमालेका कार्यलयमा आगजनी गर्ने र नेता सभादका घरमा आक्रमण गर्नेलाई सम्झाउन र सम्झाउदा नमाने ठेगान गलाउन चेतावनी निर्देशन दिए लगत्तै युवा संघको यस्तो चेतावनी आएको हो ।

युवा संघले शुक्रवार काठमाडौंमा बैठक राखेर तराई मधेसका जिल्लामा पार्टी कार्यालय तथा नेता कार्यकर्ता र जनताको सुरक्षामा युवा परिचालन गर्ने पहारीले बताए ।

त्यस्तै देशका अन्य ठाउँमा शान्ति र सामाजिक सद्भावका लागि र्‍याली आयोजना हुन लागेको उनले बताए । ‘एमालेमाथि आक्रमण गर्नेहरु सबैको पहिचान गरिसकेका छौं,तिनीहरुले राम्रोसँग हिसाब किताब चुकाउनुपर्नेछ’ पहारीले भने ।

पहारीले एमाले नेताहरुलाई धम्की दिने तथा कार्यालयमा आक्रमण गर्नेहरुलाई मधेशकै एमाले युवाले तह लगाउने उनले बताए । युवा संघले मधेश व्यूरोको बैठक समेत बोलाएको व्यूरो प्रमुख सन्जिव झाले बताए ।

एमाले अध्यक्ष केपी ओली,एमाओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुको चरित्र हत्या गर्ने र जातीय समुदाय विरुद्ध घृणा फैलाउन आङकाजी शेर्पालाई प्रहरीले पक्राउ गरेकोमा स्वागत गर्दै युवा संघले उनलाई साइबर अपराध अनुसार कारवाही हुनुपर्ने जनाएको छ ।

युवा संघले शीर्ष नेताहरुलाई भौतिक हमला गर्ने धम्की दिने राजकुमार लेखीलाई समेत कानुनी कारवाहीको दायरमा ल्याउन माग गरेको छ । ‘सरकारले यस्ता व्यक्तिहरुलाई कानुनी कारवाही गर्दैन भने हामी गर्छौं’ उनले भने ।

- See more at: http://www.onlinekhabar.com/2015/09/320732/#sthash.XtyzLEAR.mBlZ1rcg.dpuf

उपेन्द्र यादवलाई कर्म लामाको खुलापत्र



Sep 2, 2015

श्री उपेन्द्र यादव ज्यु ।
अध्यक्ष, स‌ंघीय समाजवादी फोरम नेपाल ।

यतिवेला तपाईं राजधानी आउनु भएको छ भन्ने थाहा भयो । मधेसमा आशा गरिएका, भरोसा गरिएका र लामो रेशको नेता मानिने तपाईंका पछिल्ला गतिविधि सही दिशामा नहुँदा पत्र लेख्न मन लागेको हो ।

तपाईंका पछिल्ला ब्यवहार र अभिब्यक्ति अमूर्त, अपारदर्शी र अब्यवहारिक हुँदै गएकाले मनमा रहेका प्रश्नहरुको जवाफ खोज्न पनि पत्र लेखेको हुँ । म मधेसका जनताले अधिकार पाउनु पर्छ भन्ने कुराको विरोधी नभएको समेत जानकारी गराउँदै कुनै न कुनै माध्यमले पत्र पढेर जवाफ फर्काउनु हुन्छ भन्ने आशा गर्छु ।

तपाई मुलुकको परराष्ट्रमन्त्री भइसक्नु भएको राजनीतिज्ञ हुनुहुन्छ । त्यसकारण सामान्य कुटनीतिक ब्यवहार तपाईंलाई थाहा हुनुपर्ने हो ।
लुसुक्क भारत पसेर एउटा प्रान्तका नेताहरुलाई भेटेर तपाईंले मागपत्र वाचन गरेर सुनाउनु भएको तस्बिर सहितको समाचार सार्वजनिक भएको छ । आफ्ना सुरक्षा गार्डलाई वारी नै राखेर भारतको विहार पुगेर स्थानीय नेता र हुल्लड समूहलाई भेट्नु भएको तथ्य पनि सार्वजनिक भएकै हो । के ती स्थानीय नेता र तपाईंको ‘प्रोटोकल’ समान छ ? यस्तो लाग्छ, तपाईं नेपाल भित्र मात्र हैसियत खोज्नुहुन्छ । भन्नुहोस् – यो कुन कुटनीतिक सिद्धान्तमा पर्छ ?

हिजोआज तपाईं मधेसका सशस्त्र समूहसँग वार्ता गरेर हिड्दै गरेको कुरा समाचारमा आएका छन् र तपाईंले ती समाचारको खण्डन पनि गर्नुभएको छैन । तपाईं सरकारमा रहँदा ती समूह आतंककारी मानिन्थे । किनभने उनीहरुसँग हतियार छ, तर राजनीतिक एजेन्डा छैन भनेर तपाईं नै भन्नेगर्नु हुन्थ्यो । आज रातारात तपाईं ती आतंककारी समूहलाई कुन हिसावमा भेटेर वार्ता गर्दै हुनुहुन्छ ? भन्नुहोस् – ती समूह राजनीतिक भएका हुन् कि तपाईं उनीहरुको लाइनमा जानु भएको हो ?

तपाईले समेत नेतृत्वगर्नुभएको मधेसी मोर्चाले मधेस आन्दोलनमा सहिदहुनेलाई ५० लाख दिने निर्णय गरेछ । तपाईंलाई राम्रोसँग थाहा हुनुपर्छ, संसारमा यस्तो निर्णय आतंककारी समूहले मात्र गर्ने गर्छन् । तपाईंले मधेसी जनातालाई भन्नैपर्छ, यो रकमको जोहो तपाईले कसरी गर्दै हुनुहुन्छ ? अनि मधेस आन्दोलनक्रममा यसैपाली पनि केहीको मृत्यु भइसकेको छ । के तिनका परिवारलाई जनही ५० लाख प्रदान गरिसक्नु भयो ? भन्नुहोस् – आन्दोलनमा मृत्यु हुनेका परिवारलाई ५० लाख दिने निर्णय कुन न्यायको सिद्धान्तमा पर्छ ?

तपाईंले कैलाली पुगेर त्यहाँका जनतालाई भन्नुभएछ, खुकुरी, खुँडा, भाला लिएर जनता सडकमा निस्कनुस् । त्यसको केही दिन पछि तपाईंले भनेझै हतियार बोकेर सडकमा मान्छेको हुल देखियो । त्यसहुलले पासविक ढंगले सुरक्षाकर्मीको ज्यान लियो । आफूले गरेको अनुरोध मानेर हुल निस्कियो । र, तपाईंको इसारा बुझे जस्तो गरेर दानवी शैलीमा प्रहरी मारिए । भन्नुहोस् यो आन्दोलनले तपाईं र मधेसलाई के दियो ? के तपाई समग्र मधेसमा यस्तै घटना घटाउन चाहिरहनु भएको छ ?

विहारका नेताहरुलाई तपाईंले ‘सेम्प्याथी’ बटुल्न धेरैकुरा छुटाएर ‘ब्रिफिङ’ गर्नु भएछ । मधेसीहरुलाई राज्यसत्तामा बर्जित गरिएको जानकारी पनि गराउनु भएछ । आफू पूर्व परराष्ट्रमन्त्री भन्ने परिचय तपाईंले लुकाउन खोज्नु भएछ । तपाईंका ‘पार्टनर’ राजेन्द्र महतो कतिपटक मन्त्री भए ? सायद यो गन्ती तपाईंलाई त के, उनै महतोले पनि औंला भाँचेर मात्र भन्न सक्लान् । तर तपाईंले जति नै छुटाएपनि देशका वर्तमान राष्ट्रपति, उपराष्ट्रपति मधेसी छन् भनेर उनीहरुलाई पनि कन्ठ होला । सुर्तुरमुर्गा शैलीले कहिलेसम्म लुक्ने र लुकाउने होला ?

हो, कतिपय नियम, कानुन अझै पनि अपुरा र पेलाहा प्रकारका होलान् । नयाँ संविधानले मधेसका अधिकतम माग र एजेन्डा संबोधन गर्नुपर्छ भन्नेकुरामा दुईमत छैन । तर यी सव गरिदिन विहारवाट पक्कै कोही आउँदैन । भर्खरै तपाईंहरुकै ‘ब्रिफिङ’ ले हुनुपर्छ भारतका गृहमन्त्री राजनाथ सिंहले १ करोड भारतीय नेपालमा छन् भनेर घोषणा गरेछन् । नयाँ संविधानमा उनीहरुको चासो उल्लेख हुने ठोकुवा गरेछन् । सायद भारतीय गृहमन्त्रीका यी भनाइले तपाईलाई आनन्दित वनाएको होला । तर अलिकति पनि देशको माया हुनेलाई उनको यो नालायक वाणी सही लाग्दैन । मधेसमा भारतीय होइन, भारतीय मुलका मानिस बस्छन् भनेर तपाईंले सच्याउन सक्नु हुन्थ्यो, तर त्यसो गर्ने मन र हिम्मत तपाईंले गर्नुभएन । भन्नुहोस् – भारतीय गृहमन्त्रीले मधेसमा बस्ने १ करोड नेपालीलाई भारतीय भन्दा तपाईं खुसी हुनुहुन्छ कि दुखी ?

उपेन्द्र जी, सोच्नु भएको छ – तपाईंको पार्टीलाई जनताले किन मरिच झैं चाहुरिपारिदिएका होलान् । किनभने मधेसका आम जनता राष्ट्रवादी छन् । भारतले सीमानामा ज्याजती मच्चाउँदा आँसु झारेर पहिला रुने मधेसी नै हुन्छन् । त्यस्ता जनातालाई भारतीय भनेर विदेशी गृहमन्त्रीले भन्दा तपाईंले खण्डनगर्ने हिम्मत किन गर्नुभएन ? देश र जनताले आफूलाई यस्तै ठाऊँमा तौलिने हो भन्ने पनि तपाईंले बुझ्नु भएन ?

सत्तामा छँदा जनताको पक्षमा तपाईंले के गर्नुभयो ? हामी आदिवासी जनजातीले त पत्तो पाएनौं । सायद मधेसका जनताले पनि थाहा पाएनन् । सायद यही कारण आफ्नो पार्टीको आकार मरिच झैं चाहुरिएको भन्ने लाग्दैन ? यस्तो लाग्छ, तपाईं हैसियत सानो तर भाग ठूलो खोज्ने प्रबृत्ति स्थापित गर्दै हुनुहुन्छ । देश र जनताको पक्षमा काम गर्न नसक्दा आउँदो चुनावमा झनै हैसियत खस्कन सक्छ । त्यसकारण आशा, भरोसा गरिएका नेताको पगरी यथावत पहिरिइरहनकोलागी सालिनवाटो रोज्नुस् ।

एजेन्डा विहीन आन्दोलन हुँदैन । पहिला तपाईंको माग एक मधेस एक प्रदेश थियो । अहिले आएर थारुहरुको भिन्न राज्यको माग पनि थप्नु भएको छ । प्रदेश नं २ जनकपुरको भेटीले चल्दैन भनेर तपाईंले मधेसमा पहाड पनि मिसाउनु पर्छ भन्ने घुमउरो माग राख्नु भयो । अशोक राईको पार्टीसँग मिसिनु भएको छ, राष्ट्रिय पार्टी हुन् । तर राष्ट्रिय पार्टीको अध्यक्ष जसरी प्रस्तुत हुन सक्नु भएको छैन । मधेसको कुरागर्दा आदिवासी, जनजातीको सवालमा चुप हुनुहुन्छ । राष्ट्रिय नेता हुन सवैका माग बोक्न सक्नुपर्छ कि पर्दैन ? र, मागमा एकरुपता हुनुपर्छ कि पर्दैन ?

अन्त्यमा, अन्तिम मूल्यांकन जनताले गर्छन् भन्ने यथार्थ बुझेर ब्यवहार गर्नुहोस् । के तपाईं अराजक हुँदैमा समग्र मधेस अराजक हुन्छ ? अराजकताले सवैलाई खान्छ भन्ने विश्व इतिहास तपाईंले पढ्नु भएको छ ?
जय देश– जय जनता ।

 

                                                                                                                 

                                                                                                                      कर्म लामा                                                                                                                    बारा, निजगढ । हाल–काठमाण्डौं

Monday, August 31, 2015

फेरि भुकम्पको धक्का

 भाद्र १५.काठमाडौं

बैशाख १२ को महाभुकम्प पछि परकम्प जाने क्रम अझै रोकिएको छैन । भाद्र १४ गते राती  ११ बजेर ३३ मिनेटमा सिन्धुपाल्चोक केन्द्र बिन्दु भएर ४.२ रेक्टर स्केलको भुकम्प रेकर्ड गरिएको छ ।