F

Sunday, August 9, 2015

मेरो घरको संघीय अंशबण्डा

सुशील देवकोटा ,श्रावण २४.२०७२

कसो कसो अपुतालीमा एउटा घर फेला पर्‍यो । घर के फेला पर्‍याथ्यो घरका सबैको चाहनाको चुली यदि धेरै चुलिन थाल्यो कि त्यो घरलाई सहज बनाउनु नै एउटा चुनौती भयो मेरो लागि । श्रीमतीलाई मिलाउन खोजे आमा रिसाउने, आमाको इच्छा पूरा गरिदिन खोज्यो छोराछोरीलाई त्यो मन नपर्ने । मेरो घरको विवाद बढन थाल्यो । घरपरिवार, इष्ट मित्रले त थाहा पाउने नै भए - ए फलानाको घरमा त यस्तो विवाद छ रे भनेर, छर छिमेकीले समेत थाहा पाउन थाले । बरु आफ्ना नातागोताले दिएको सल्लाह मानेको भए आज पछुताउनु पर्दैनथ्यो कि कुन्नि ? ताई न तुईका छिमेकीको कुराहरु धेरै सुनिएछ । सुन्दा बढो मीठो लाग्ने कुरा गर्थे ती छिमेकी । घरपरिवारमा मनमुटाव गर्न हुन्न, सहमति गर्नुस् । कति मीठो कुरो ! तर त्यतिबेला मैले सम्झिन सकिन कि मेरो एउटा छिमेकीको दाजुभाइ छुट्टिएको वर्षौ भैसक्यो तर आज पनि ती एकअर्कामा काटाकाट गर्छन् । अर्को छिमेकी त झन् कस्तो स्वार्थी छ भने उसको आफ्नो भलो हुन्छ भने जसको पक्षमा पनि प्वाक्क बोल्दिने के । मेरो कर्म उस्तै हो कि के हो खै मेरा सबै छिमेकी उस्तै उस्ता मात्रै छन् भन्या ।
ए लौ न त त्यसो भए सहमति नै गरौं भन्ने तिर गइयो । आफ्नाले त भनेका हुन् - ए, त्यसो नगर है नगर ! तर सुनिएन अनि छिमेकीहरुले नै गरेका भागबण्डालाई उदाहरण बनाइयो । ऊनीहरुले दिएका सुझावलाई मुलमन्त्र मानियो अनि गरियो सहमति अनि गरियो अंसबण्डा । अब मेरो घरको अवस्था यस्तो पो भा'छ त :-
चुल्हो भएको ठाउँ मेरी श्रीमतीको भागमा पर्‍यो तर राशन राख्ने ठाउँ मेरी आमाको भागमा पर्‍यो । खाना खाने ठाउँ त मेरो भागमा पर्‍यो तर खाएको निकाल्ने ठाउँ मेरो छोरोको भागमा पर्‍यो । सुत्ने कोठा छोरोको भागमा पर्‍यो अनि आङन छोरीको भागमा । अति भद्रगोल भएको छ यो अंसबण्डा । अंशबण्डा गर्ने क्रममा पुजा ठाउँको त कसैलाई यादै पो भएन छ कि वास्तै गरिएन छ - भगवान त कसैको भागमा परेन छन् । तिनै भगवानलाई घर पाइयोस भनेर कति पुकारा गरियो, अर्चना गरियो तर घर पाए पछि न त्यसलाई साचो अर्थमा घर बनाउन सकियो न टिकाउन सकियो ।
आज छोराले पुर्व हेरे छोरी पश्चिम हेर्छे, आमाले उत्तर हेरे श्रीमतीले दक्षिण हेर्छे । अनि म चाहिँ माथी हेर्छु र भन्छु - यसरी घर पाउनु भन्दा त ..... यस्तो घर पाउनु भन्दा त बरु पहिला कै घर ठिक थियो । घरपट्टिले अलिअलि हेप्थ्यो त्यो सहि हो तर पुरै परिवार, परिवार जसरी त बसेका थियौं, बाचेका थियौं । मिल्ने भए पनि फर्काइदिन्थे म त यो घर, सत्य धरोधर्म !!!

............................*********.........................

लेखक चिरपरिचित गीतकार हुन र  बिगत तीन दशक देखि चलचित्र, उद्घोषण , लेखन कार्यमा सकृय छ्न ।।

No comments:

Post a Comment