F

Wednesday, September 2, 2015

उपेन्द्र यादवलाई कर्म लामाको खुलापत्र



Sep 2, 2015

श्री उपेन्द्र यादव ज्यु ।
अध्यक्ष, स‌ंघीय समाजवादी फोरम नेपाल ।

यतिवेला तपाईं राजधानी आउनु भएको छ भन्ने थाहा भयो । मधेसमा आशा गरिएका, भरोसा गरिएका र लामो रेशको नेता मानिने तपाईंका पछिल्ला गतिविधि सही दिशामा नहुँदा पत्र लेख्न मन लागेको हो ।

तपाईंका पछिल्ला ब्यवहार र अभिब्यक्ति अमूर्त, अपारदर्शी र अब्यवहारिक हुँदै गएकाले मनमा रहेका प्रश्नहरुको जवाफ खोज्न पनि पत्र लेखेको हुँ । म मधेसका जनताले अधिकार पाउनु पर्छ भन्ने कुराको विरोधी नभएको समेत जानकारी गराउँदै कुनै न कुनै माध्यमले पत्र पढेर जवाफ फर्काउनु हुन्छ भन्ने आशा गर्छु ।

तपाई मुलुकको परराष्ट्रमन्त्री भइसक्नु भएको राजनीतिज्ञ हुनुहुन्छ । त्यसकारण सामान्य कुटनीतिक ब्यवहार तपाईंलाई थाहा हुनुपर्ने हो ।
लुसुक्क भारत पसेर एउटा प्रान्तका नेताहरुलाई भेटेर तपाईंले मागपत्र वाचन गरेर सुनाउनु भएको तस्बिर सहितको समाचार सार्वजनिक भएको छ । आफ्ना सुरक्षा गार्डलाई वारी नै राखेर भारतको विहार पुगेर स्थानीय नेता र हुल्लड समूहलाई भेट्नु भएको तथ्य पनि सार्वजनिक भएकै हो । के ती स्थानीय नेता र तपाईंको ‘प्रोटोकल’ समान छ ? यस्तो लाग्छ, तपाईं नेपाल भित्र मात्र हैसियत खोज्नुहुन्छ । भन्नुहोस् – यो कुन कुटनीतिक सिद्धान्तमा पर्छ ?

हिजोआज तपाईं मधेसका सशस्त्र समूहसँग वार्ता गरेर हिड्दै गरेको कुरा समाचारमा आएका छन् र तपाईंले ती समाचारको खण्डन पनि गर्नुभएको छैन । तपाईं सरकारमा रहँदा ती समूह आतंककारी मानिन्थे । किनभने उनीहरुसँग हतियार छ, तर राजनीतिक एजेन्डा छैन भनेर तपाईं नै भन्नेगर्नु हुन्थ्यो । आज रातारात तपाईं ती आतंककारी समूहलाई कुन हिसावमा भेटेर वार्ता गर्दै हुनुहुन्छ ? भन्नुहोस् – ती समूह राजनीतिक भएका हुन् कि तपाईं उनीहरुको लाइनमा जानु भएको हो ?

तपाईले समेत नेतृत्वगर्नुभएको मधेसी मोर्चाले मधेस आन्दोलनमा सहिदहुनेलाई ५० लाख दिने निर्णय गरेछ । तपाईंलाई राम्रोसँग थाहा हुनुपर्छ, संसारमा यस्तो निर्णय आतंककारी समूहले मात्र गर्ने गर्छन् । तपाईंले मधेसी जनातालाई भन्नैपर्छ, यो रकमको जोहो तपाईले कसरी गर्दै हुनुहुन्छ ? अनि मधेस आन्दोलनक्रममा यसैपाली पनि केहीको मृत्यु भइसकेको छ । के तिनका परिवारलाई जनही ५० लाख प्रदान गरिसक्नु भयो ? भन्नुहोस् – आन्दोलनमा मृत्यु हुनेका परिवारलाई ५० लाख दिने निर्णय कुन न्यायको सिद्धान्तमा पर्छ ?

तपाईंले कैलाली पुगेर त्यहाँका जनतालाई भन्नुभएछ, खुकुरी, खुँडा, भाला लिएर जनता सडकमा निस्कनुस् । त्यसको केही दिन पछि तपाईंले भनेझै हतियार बोकेर सडकमा मान्छेको हुल देखियो । त्यसहुलले पासविक ढंगले सुरक्षाकर्मीको ज्यान लियो । आफूले गरेको अनुरोध मानेर हुल निस्कियो । र, तपाईंको इसारा बुझे जस्तो गरेर दानवी शैलीमा प्रहरी मारिए । भन्नुहोस् यो आन्दोलनले तपाईं र मधेसलाई के दियो ? के तपाई समग्र मधेसमा यस्तै घटना घटाउन चाहिरहनु भएको छ ?

विहारका नेताहरुलाई तपाईंले ‘सेम्प्याथी’ बटुल्न धेरैकुरा छुटाएर ‘ब्रिफिङ’ गर्नु भएछ । मधेसीहरुलाई राज्यसत्तामा बर्जित गरिएको जानकारी पनि गराउनु भएछ । आफू पूर्व परराष्ट्रमन्त्री भन्ने परिचय तपाईंले लुकाउन खोज्नु भएछ । तपाईंका ‘पार्टनर’ राजेन्द्र महतो कतिपटक मन्त्री भए ? सायद यो गन्ती तपाईंलाई त के, उनै महतोले पनि औंला भाँचेर मात्र भन्न सक्लान् । तर तपाईंले जति नै छुटाएपनि देशका वर्तमान राष्ट्रपति, उपराष्ट्रपति मधेसी छन् भनेर उनीहरुलाई पनि कन्ठ होला । सुर्तुरमुर्गा शैलीले कहिलेसम्म लुक्ने र लुकाउने होला ?

हो, कतिपय नियम, कानुन अझै पनि अपुरा र पेलाहा प्रकारका होलान् । नयाँ संविधानले मधेसका अधिकतम माग र एजेन्डा संबोधन गर्नुपर्छ भन्नेकुरामा दुईमत छैन । तर यी सव गरिदिन विहारवाट पक्कै कोही आउँदैन । भर्खरै तपाईंहरुकै ‘ब्रिफिङ’ ले हुनुपर्छ भारतका गृहमन्त्री राजनाथ सिंहले १ करोड भारतीय नेपालमा छन् भनेर घोषणा गरेछन् । नयाँ संविधानमा उनीहरुको चासो उल्लेख हुने ठोकुवा गरेछन् । सायद भारतीय गृहमन्त्रीका यी भनाइले तपाईलाई आनन्दित वनाएको होला । तर अलिकति पनि देशको माया हुनेलाई उनको यो नालायक वाणी सही लाग्दैन । मधेसमा भारतीय होइन, भारतीय मुलका मानिस बस्छन् भनेर तपाईंले सच्याउन सक्नु हुन्थ्यो, तर त्यसो गर्ने मन र हिम्मत तपाईंले गर्नुभएन । भन्नुहोस् – भारतीय गृहमन्त्रीले मधेसमा बस्ने १ करोड नेपालीलाई भारतीय भन्दा तपाईं खुसी हुनुहुन्छ कि दुखी ?

उपेन्द्र जी, सोच्नु भएको छ – तपाईंको पार्टीलाई जनताले किन मरिच झैं चाहुरिपारिदिएका होलान् । किनभने मधेसका आम जनता राष्ट्रवादी छन् । भारतले सीमानामा ज्याजती मच्चाउँदा आँसु झारेर पहिला रुने मधेसी नै हुन्छन् । त्यस्ता जनातालाई भारतीय भनेर विदेशी गृहमन्त्रीले भन्दा तपाईंले खण्डनगर्ने हिम्मत किन गर्नुभएन ? देश र जनताले आफूलाई यस्तै ठाऊँमा तौलिने हो भन्ने पनि तपाईंले बुझ्नु भएन ?

सत्तामा छँदा जनताको पक्षमा तपाईंले के गर्नुभयो ? हामी आदिवासी जनजातीले त पत्तो पाएनौं । सायद मधेसका जनताले पनि थाहा पाएनन् । सायद यही कारण आफ्नो पार्टीको आकार मरिच झैं चाहुरिएको भन्ने लाग्दैन ? यस्तो लाग्छ, तपाईं हैसियत सानो तर भाग ठूलो खोज्ने प्रबृत्ति स्थापित गर्दै हुनुहुन्छ । देश र जनताको पक्षमा काम गर्न नसक्दा आउँदो चुनावमा झनै हैसियत खस्कन सक्छ । त्यसकारण आशा, भरोसा गरिएका नेताको पगरी यथावत पहिरिइरहनकोलागी सालिनवाटो रोज्नुस् ।

एजेन्डा विहीन आन्दोलन हुँदैन । पहिला तपाईंको माग एक मधेस एक प्रदेश थियो । अहिले आएर थारुहरुको भिन्न राज्यको माग पनि थप्नु भएको छ । प्रदेश नं २ जनकपुरको भेटीले चल्दैन भनेर तपाईंले मधेसमा पहाड पनि मिसाउनु पर्छ भन्ने घुमउरो माग राख्नु भयो । अशोक राईको पार्टीसँग मिसिनु भएको छ, राष्ट्रिय पार्टी हुन् । तर राष्ट्रिय पार्टीको अध्यक्ष जसरी प्रस्तुत हुन सक्नु भएको छैन । मधेसको कुरागर्दा आदिवासी, जनजातीको सवालमा चुप हुनुहुन्छ । राष्ट्रिय नेता हुन सवैका माग बोक्न सक्नुपर्छ कि पर्दैन ? र, मागमा एकरुपता हुनुपर्छ कि पर्दैन ?

अन्त्यमा, अन्तिम मूल्यांकन जनताले गर्छन् भन्ने यथार्थ बुझेर ब्यवहार गर्नुहोस् । के तपाईं अराजक हुँदैमा समग्र मधेस अराजक हुन्छ ? अराजकताले सवैलाई खान्छ भन्ने विश्व इतिहास तपाईंले पढ्नु भएको छ ?
जय देश– जय जनता ।

 

                                                                                                                 

                                                                                                                      कर्म लामा                                                                                                                    बारा, निजगढ । हाल–काठमाण्डौं

No comments:

Post a Comment